धनकुटाको कुल मतदाता १ लाख २० हजार नाघ्यो,थपिए ३ हजार नयाँ मतदाता
धनकुटा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनका लागि झण्डै ३ हजार नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाका निर्वाचनका लागि हरेक जिल्ला निर्वाचन कार्यालयमा गत असोज ९ गतेदेखि मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता तथा अध्यावधिक गर्ने समय दिएको थियो ।
सो अवधीमा धनकुटामा ३ हजार २ सय ७२ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय धनकुटामा पुगेर नामावली दर्ता गर्नेमा सबैभन्दा पुरुष छन् । जसमा ७ सय १४ जना पुरुष छन् भने ५ सय ७२ जना महिला छन् ।
राष्ट्रिय परिचय पत्र भएकाहरुलाई घरमै बसेर पनि नाम दर्ता गर्ने अवसर दिएपछि धनकुटामा पनि मतदाताको संख्या पनि बढेको छ । जसमा योपटक राष्ट्रिय परिचय पत्रको माध्यमबाट १ हजार ९ सय ८६ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । योसँगै धनकुटामा कुल मतदाताको संख्या १ लाख २० हजार २ सय ८२ पुगेको छ । यसअघि धनकुटामा १ लाख १७ हजार १० जना मतदाता रहेका थिए ।
धनकुटामा गत प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १ सय १९ वटा मतदान स्थल र १ सय ६२ वटा मतदान केन्द्र रहेका थिए भने २ वटा अस्थायी मतदान केन्द्र थिए ।
आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आगामी पुस १५ गतेसम्म अन्तिम नामावली प्रकाशन भइसक्ने निर्वाचन आयोगको तालिका छ । त्यसका आधारमा धनकुटामा मतदान केन्द्र थपघट हुन सक्ने निर्वाचन कार्यालय धनकुटाका निमित्त प्रमुख सुरज श्रेष्ठले बताउनु भयो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन धनकुटामा उत्साहजनक सहभागिता देखिएको छ । विदेशबाट फर्केका र योग्यता पुगेका मध्येका सबैभन्दा बढी जेन जी पुस्ताले नाम दर्ता गराएका छन् । विदेश गएर फर्किनेहरुले पनि नाम दर्ता गराएका छन् ।
आयोगले तोकेअनुसार मतदाता नामावली संकलन र अध्यावधिक तर्फ ठेगाना सार्ने, त्रुटि सच्याउने लगायतका काम भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।-स्रोत :धनकुटा एफ एन


