किशोर किशोरीले एउटै रुखमा झुण्डिएर गरे आत्महत्या
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९, काँक्रेबिहारस्थित जंगलमा सोमबार एक किशोर र किशोरी मृत अवस्थामा फेला परेका छन्। स्थानीयले घाँस काट्ने क्रममा करौंटीको रूखमा झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार मृतकमध्ये १६ वर्षीया किशोरी वीरेन्द्रनगर–१० खजुरा निवासी हुन् भने १८ वर्षीय किशोर जुम्लाको कनकासुन्दरी गाउँपालिका–७का हुन्। उनीहरू दुबैजना एउटै रूखमा झुण्डिएको अवस्थामा बिहान करिब ११:१५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढाथपाले जानकारी दिए।
खबर पाएपछि प्रहरी निरीक्षक राजन भट्टराईको कमान्डमा पाँच जनाको टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पार्ने काम भइरहेको प्रहरीको भनाइ छ। आवश्यक प्रक्रिया पूरा गरी दुबैजनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइने बताइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


