खुवालुङ सांस्कृतिक सम्भाव्यता अध्ययनका लागि स्थलगत अवलोकन(फोटो फिचर)
हिराराज राई ,धनकुटा । खुवालुङ क्षेत्रको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय महत्वलाई दृष्टिगत गर्दै गरिएको भौतिक निर्माण तथा सम्भाव्यता अध्ययनलाई थप प्रभावकारी बनाउन सोमवार एक उच्चस्तरीय टोलीले स्थलगत अवलोकन गरेको छ। कार्यक्रम बराहक्षेत्र नगरपालिका चक्रघट्टी, सुनसरीको आयोजनामा सम्पन्न भएको हो।
भौतिक तथा पूर्वाधार मन्त्री भुपेन्द्र राईको नेतृत्वमा सम्पन्न अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा पूर्व राज्यमन्त्री निरन राई, साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राई, स्थानीय बुद्धिजीवी, जग्गादाता तथा किराँत राई यायोक्खा प्रदेश सचिव राम मानढुपा राईसहित स्थानीय सरोकारवालाको सहभागिता थियो।
अवलोकनका क्रममा मन्त्री राईले खुवालुङ क्षेत्रलाई सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रूपमा संरक्षण गर्दै व्यवस्थित विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए। उनले स्थानीय तह, विशेषज्ञ तथा समुदायको सुझाव समेटेर सम्भाव्यता अध्ययनलाई अझै वैज्ञानिक र व्यवस्थित बनाइने उल्लेख गरे।
स्थानीय सरोकारवालाले खुवालुङको मौलिक पहिचान जोगाएर सांस्कृतिक पर्यटन विकासको मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको अन्त्यमा सहभागीहरूले सामूहिक समन्वय र सहकार्यका आधारमा आगामी कार्ययोजना अघि बढाइने बताए।






