विराटनगर स्थित इडेनवर्ग कलेजको वादविवादमा पवनकुमार प्रथम
विराटनगर । विराटनगरस्थित इडेनवर्ग कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा वीवीएस दोस्रो वर्षमा अध्ययनरत पवनकुमार यादव प्रथम भएका छन् ।
‘सामाजिक सञ्जालले समाज जोड्छ कि तोड्छ’ शीर्षकमा आयोजित प्रतियोगितामा विपक्षमा तर्क प्रस्तुत गरेर १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै यादव प्रथम भएका हुन् । त्यस्तै विपक्षमै तर्क राख्ने वीवीएस प्रथम वर्षमा अध्ययनरत ज्योति मेहता द्वितीय, पक्षमा बोल्ने वीवीएस प्रथम वर्षमै अध्ययनरत इतिफाक आलम तृतीय हुँदा विपक्षमा तर्क प्रस्तुत गर्ने वीवीएस दोस्रो वर्षकी बवी ठाकुर सान्त्वना भइन् ।
कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख निर्णायक रहेको समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । नवोदितसहित वासुदेव शर्मा र सीमा आचार्य सम्मिलित निर्णायक समितिले पक्ष र विपक्षमा विचार प्रस्तुत गरेका विद्यार्थीहरुमध्येबाट उत्कृष्ट विद्यार्थी छनौट गरेको थियो ।
विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका नवोदित, क्याम्पस प्रमुख दिपेन्द्रकुमार साह (डिके) कलेजका को–अर्डिनेटर शम्भुप्रसाद महतो, सञ्चालक कृष्णप्रसाद निरौला, संयोग पोखरेल, जन्सन माझी, जेवी मगरलगायतले अविर लगाइदिएर ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
इडेनवर्ग कलेज शिक्षा र व्यवस्थापन अध्ययनका लागि विराटनगरमा अब्बल मानिन्छ । सो कलेजमा वीवीएस र वीएड अध्ययन गराइन्छ ।
कलेजले पठनपाठसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेको क्याम्पस प्रमुख दिपेन्द्रकुमार साह (डिके)ले जानकारी दिए । कलेजले बेलाबेला कविता, वक्तृत्वकला, वादविवाद, हाजिरीजवाफ, खेलकुदसहितका अतिरिक्त क्रियाकलाप आयोजना गर्दै आएको छ । अन्तरकलेज प्रतिस्पर्धामा समेत कलेजले विभिन्न स्थान हासिल गर्दै आएको छ ।


