ताप्लेजुङको सिदिङवामा विद्युत् सर्टबाट आगलागी, ५० लाखको क्षति
ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–४ भन्ज्याङ बजारस्थित डेनी तामाङको पाँचतले पक्की घरमा सुक्रबार साँझ भीषण आगलागी भएको छ। चौथो तल्लाबाट अचानक विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी चौकी साब्लाखुले जनाएको छ।
आगलागी हुनेबित्तिकै स्थानीय सागर गौतमले साँझ ४:३५ बजे प्रहरीलाई जानकारी गराएका थिए। जानकारी पाएपछि प्रहरी प्रमुख प्रदिप कुमार विष्टको कमाण्डमा प्रचौ थुम्बेदिन, सिनाम र अप्रचौ खाम्दिम्बेबाट गरी जम्मा ११ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा आगो करिब ६:४० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो।
आगोबाट घरको टिनको छाना, काठपात, ल्यापटप, कम्प्युटर, प्रिन्टर, ब्याट्री, सोलारलगायत मेसिनरी सामान जलेर करिब ५० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
आगलागीमा कुनै मानविय वा चौपायाको क्षति नभएको र घटनास्थल प्रहरी चौकी साब्लाखुबाट करिब ३०० मिटर दक्षिणतर्फ पर्ने बताइएको छ।-स्रोत :नीलोपाटी


