धनकुटामा आज बिहानबाट मतगणना सुरु
धनकुटा,१४ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न हिजो धनकुटामा मतदान सम्पन्न भएकाले आज बिहानबाट मतगणना थालिने भएको छ । हिजो रातिसम्ममा सबै वडाहरूट मतपेटिका संकलन गरेर आइतवार बिहान ७ बजेबाट मतगणना थालिने भएको हो ।
प्रतिनिधि छनौटका लागि धनकुटाका ६० वटै वडामा मतदान केन्द्र तोकिएको थियो । प्रतिनिधि छनौटका क्रममा असन्तुष्ट नेता इन्द्रमणि पराजुली पक्षले जिल्ला पार्टी कार्यालयसहित केही वडाहरूमा विरोध प्रदर्शन र केही समय अवरोध गरेको थियो । तर, विरोधका बावजुत पनि सबै वडामा मतदान सम्पन्न भएको एमाले जिल्ला अध्यक्ष शिव आङ्लाले जानकारी दिए ।
अहिले अधिकांश वडाहरूबाट जिल्ला पार्टी कार्यालयमा मतपेटीका सङ्कलन भइसकेको छ । सबै वडाको मतपेटीका आइसकेपछि आइतवार बिहान ७ बजेबाट पार्टी कार्यालयमा मतगणना सुरु गरिने एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिए ।
प्रतिनिधि छनौटका क्रममा सहमति जुट्न नसकेपछि पूर्व निर्धारित निर्वाचन कार्यतालिका अनुसार मतदान गरिएको एमाले धनकुटाले जनाएको छ । यता, सहमतिका लागि भन्दै अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता गराएर अन्तिममा पूर्वतयारी विना नै हचुवा तालमा मतदानमा लगिएको भन्दै नेता पराजुली पक्षले विरोध जनाएको हो ।


