मोरङको वारङिमा निःशुल्क स्वास्थ्य शिविर, ३७५ जनाले पाए सेवा
लेटाङ, १५ मंसिर । मोरङको लेटाङ नगरपालिका–७ वारङिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। लेटाङ एडभान्स हस्पिटलको प्राविधिक सहयोगमा तथा ७ नं. वडा कार्यालयको आयोजनामा वारङ्गी लेटाङ क्षेत्रमा “मोरङको कर्णाली” भनेर चिनिने ठाउँमा गरिएको स्वास्थ्य शिविरमा करिब ३७५ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
बिराटनगरबाट आएका वरिष्ठ फिजिसियन डा. अरविन्द देव, डा. प्रमोद यादव तथा नेत्ररोग विशेषज्ञ श्रीराम शाह सहितको चिकित्सक टोलीले विभिन्न स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेको वडा कार्यालयले जनाएको छ।
शिविरमार्फत २१ जनाको ईसीजी, ६३ जनाको ब्लड ग्रुपिङ, १७३ जनाको ओपीडी जाँच, ७२ जनाको आँखा र कान परीक्षण, ४३ जनाको सुगर तथा कोलेस्ट्रोल र १३ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो। जसमध्ये २ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ।
लेटाङ एडभान्स हस्पिटलका सञ्चालक इश्वर शाक्यका अनुसार, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले आगामी दिनमा पनि यस्ता शिविर निरन्तर सञ्चालन गरिने योजना रहेको छ।


