एमाले धनकुटालाई झड्का : प्रतिनिधि छनोटमा पुनः निर्वाचन गर्न केन्द्रको निर्देशन
धनकुटा,१७ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको मिति नजिँकिदै गर्दा धनकुटामा राजेन्द्र राई र इन्द्रमणी पराजुली बीच थप द्धन्द्ध चर्किने देखिएको छ ।
नेकपा एमालेको केन्द्रिय कार्यालयले प्रतिनिधि छनोटमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले निर्वाचन नगरिएकाले पुनः प्रतिनिधि छनोटका लागि ५ दिनभित्र निर्वाचन गर्न दिएसँगै यी दुई पक्षबीच थप द्धन्द्ध चर्किने देखिएको हो ।
केन्द्रिय कार्यालयले पार्टी केन्द्रको अपानी १३ ले निर्देशन गरेको भए पनि धनकुटा जिल्लाको निर्वाचनमा अपानी अनुसार नभएकाले प्रभावकारी माध्यमबाट सबै सदस्यलाई सुचना सम्प्रेषण गरी पालिका स्तरमा मतदान गर्न निर्देशन दिएको छ ।
पुनः निर्वाचनमा सहजीकरण गर्न एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र जिल्ला इन्चार्ज राजेन्द्र राईलाई तोकेको छ । केन्द्रको निर्देशन अनुसार अब २१ गतेभित्र महाधिवेसन प्रतिनिधि छनोटका लागि पुनः निर्वाचन गर्नुपर्नेछ ।
एमाले धनकुटाले महाधिवेसन प्रतिनिधि छनोटका लागि १३ मंसिरमा निर्वाचन गरेको थियो । तर, मतदाताहरुलाई सुचना नै नदिई एकलौटी रुपमा मतदान गराएको भन्दै पराजुली पक्षले विरोध जनाएको थियो ।
धनकुटामा घोषित रुपमै प्रतिनिधिसभा सदस्य राजेन्द्र राई र प्रदेशसभा सदस्य इन्द्रमणी पराजुलीको स्पष्ट दुई खेमा छन् । यी दुवै खेमाले महाधिवेसन प्रतिनिधि छनोटका लागि अघोषित रुपमै उम्मेदवारी दर्ता गराएका थिए ।
धनकुटाबाट महाधिवेसनमा १३ जना प्रतिनिधिका लागि ३२ जनाको उम्मेदवारी दर्ता गराएका थिए । तर पराजुली पक्षले सहमतिका नाममा अवैधानिक तरिकाले निर्वाचन गराउन खोजेको भन्दै पत्रकार सम्मेलनमार्फत विरोध जनाएको थियो । तर विरोधका बाबजुत पनि भएको निर्वाचनमा खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ, महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले र युवातर्फ सरोज राई निर्वाचित निर्वाचित हुनुभएको थियो भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत हुनुभएको थियो । निर्वाचित सबै प्रतिनिधि केपी ओली पक्षका हुन् ।
नेता राई र पराजुली अहिलेसम्म ओली पक्षकै हुन् । पराजुली पक्षबाट खुला कोटामा निरेन तामाङ र मनोज राई, महिला कोटामा तारा तितुङ र युवा कोटामा कमल कार्की चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए । तर, चारै जना मतदानमा सहभागी भएनन् । निर्वाचनको विधि विपरित मतदान गराइएको भन्दै आन्दोलित बनेको सो पक्षले चुनाव पनि बहिष्कारको घोषणा गरेको थियो ।
यसरी विथोलियो मतदान
निर्वाचन आयोगको कार्यतालिका अनुसार शुरुमा कुनै पक्ष वा विपक्ष नभई १३ जनाको लागि ३२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । उम्मेदवारी दर्ता गराएपछि दुवै पक्षबीच सहमतिको प्रयास गरिएको थियो ।
पराजुली पक्षले अन्तिम समयमा ४ जना महाधिवेसन प्रतिनिधि चाहिने अडान कायम राख्दा धनकुटा इन्चार्ज समेत रहनुभएका राईले १२ गते रातीसम्म छलफल गर्ने आश्वासन दिनुभएको थियो । तर, बिहान अचानक निर्वाचन गर्ने भन्दै जिल्ला अध्यक्ष शिव आङ्लाले सुचना जारी गरेपछि पराजुली पक्षले पत्रकार सम्मेलन गरेर मतदातालाई सुचना नदिई गरिने निर्वाचन स्वीकार्य नहुने भन्दै बहिष्कार गरेको थियो ।
पराजुली पक्षले बहिष्कार गरिरहँदा धमाधम एकलौटी तरिकाले मतदातालाई थाहै नदिई निर्वाचन गरिएको भन्दै पार्टी कार्यालयमा तालाबन्दीसमेत भएको थियो । सोही क्रममा हात हालाहातको स्थिती पैदा भएको थियो ।
पराजुली पक्षले सो निर्वाचनमा एकै जना व्यक्तिले ५०÷६० जनाको नाममा मतदान गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक समेत गरेको थियो । यसको विरोधमा पराजुली पक्षले केन्द्रलाई जानकारी गराएको थियो । साथै सामाजिक सञ्जालमा सार्जजनिक भएका भिडियो, फर्जी मतदानको विवरण र अन्य प्रमाणसहित केन्द्रमा ५ वटा उजुरी दर्ता गराएका थिए । सोही आधारमा केन्द्रल् पुनः निर्वाचन गर्न निर्देशन दिएको छ ।
जिल्लालाई जानकारी छैन : आङ्ला
नेकपा एमालेको केन्द्रिय कार्यालयले जारी गरेको सुचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर अहिलेसम्म जिल्ला कमिटीमा कुनै खबर आएको छैन ।
जिल्ला अध्यक्ष शिव आङ्लाले सामाजिक सञ्जालमा देखेको भए पनि अहिलेसम्म पार्टी कार्यालयमा आधिकारकि रुपमा पत्र नआएका कारण यसै भन्न नसकिने बताउनु भयो । ‘महासचिव वा पार्टी कार्यालयबाट पत्र आउला नि त’ उहाँले भन्नुभयो, ‘केन्द्रको पत्र आधिकारीक रुपमा आएपछि निर्वाचन गराउने या के गर्ने भन्ने कुरा पार्टीमा छलफल हुन्छ । अनि मात्र टुंगो लाग्छ । सामाजिक सञ्जालमा आएको भरमा आधिकारीक मान्न सकिँदैनँ ।’
स्रोतमा अनुसार अध्यक्ष आङ्लाले आधिकारीक पत्र नआएको बताए पनि हिजो बेलुका नै अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।-स्रोत :धनकुटा एफएम



