खाड़ीबाट धुर्मुस दाजुलाई बकपत्र

सचिन्द्र श्रेष्ठ ।
प्रिय धुर्मुस दाजु नमस्कार एवं सु- स्वास्थ्यको कामना। पत्रको सुरुमै भन्छु ‘मलाई माफ गर्नुस्, हजुरको सपनालाई साथ दिन सकिन’ ! हजुरहरूको धुर्मुस-सुन्तली फाउन्डेसनले २०७४ सालमा राष्ट्रिय गौरवको आयोजना आटेको आँटेको पनि ६ वर्ष कटि सकेको छ। हजुरको मन ,सोच सकारात्मक हुँदा हुँदै पनि सोचेको जस्तो हुन नसकी अलपत्र रहेको हजुरहरूको महत्त्वाकाङ्क्षी योजना भनौँ या स्टण्टबाजी अहिले आएर निल्नु न ओकल्नुको सङ्घारमा उभिँदै जबाफदेही हुनु परेको यथार्थ अवगत नै होला ।

२०७९ चैत्रताका पनि हजुरको भिडिओ ‘रङ्गशालाका दुबो मरे होलान्, तर आशा मरेको छैन, डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन।’ भन्ने अभिव्यक्ति आए सँगै मनमा अनेकौँ खुल्दुली, मानसपटलमा चासो र चिन्तनले छोएको हुँदा पुनः अमेरिका भासिनु भयो भन्ने बकपत्र आए सँगै परदेशबाट यो पत्र लेख्ने दुस्साहस गरेको छु। कलाकारिताबाट समाजसेवाको यात्रा तय गर्नु भएको हजुर अहिले न कलाकारिता न समाजसेवा नै ! हजुरहरूको फाउन्डेसनले ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल नमुना नेपाल’ भन्ने नारा सहित सुरुवात गरेको त्यो योजना कोरोनासँगै अहिलेसम्म केही गति लिन सकेको छैन।

सपना देख्नु,देशका लागी केही गर्छु भन्नु आफैमा गलत थिएन तर त्यो सपना यथार्थता बन्न सकेन। तसर्थ अब हजुरले आम जनमानसलाई स्पष्ट पारेर अगाडि बढ्नु पर्छ।

हजुरहरूको योजनामा कुनै खोट नहोला। हजुरले सोचे जस्तो सहज पनि कहाँ हुन्छ र ! एउटा देशको कलाकारले देशको बारेमा सोच्नु पक्कै गलत होइन, कलाकारिता र हास्यकला क्षेत्रमा हजुरको योगदानको कदर गरेका छौँ हामीले। अझ हामी विदेश बस्नेलाई त नेपालमा बस्दा भन्दा परदेश बसे पछि देशको माया धेरै लाग्दो रहेछ। यही चासो र हजुरको काभ्रेपलान्चोक र सिन्धुपाल्चोकका भूकम्प पीडित, महोत्तरीमा मुसहर समुदायका लागि नमुना बस्ती साथै रौतहटको चन्द्रपुरमा नमुना बस्ती निर्माण गरे पछि अझ विदेश बस्ने आम नेपाली दाजु भाइहरूको हजुर प्रति थप विश्वास र भरोसा बढ्यो।

देश बनाउँछु भनेर आएका सरकार र राजनीतिक दलका अगुवा प्रति निराश बनेका हामी नेपाली सरकारले प्रभावकारी काम नगर्दा निराश छौँ। सरकारको ढिलासुस्ती र उदासीनताले वाक्क दिक्क भएका हामी हजुरको फाउन्डेसनले पारदर्शी ढङ्गले काम गर्छ भन्नेमा विश्वास भएका कारण तपाईँलाई एउटा मसिहा वा आइडलका रुपमा हामीले पाएका थियौ। लिएका थियौँ।

हजुरको त्यो सोच नमुना पशुपतिनाथ, जानकी, मुक्तिनाथ मन्दिर र गौतम बुद्धको जन्मथलो लुम्बिनी होस् या गुम्बा, चर्च र मस्जिद, जङ्गल सफारी, हिउँ खेल्ने ठाउँ र बोटिङ गर्न मिल्ने पोखरी र ध्यान केन्द्रको परिकल्पना जायज थियो। हिमाली क्षेत्र तोकिएको भागमा शेर्पा, भोटे, थकाली, डोल्पो, पहाडी भागमा राई, लिम्बू, गुरुङ, विश्वकर्मा, दर्जी, मगर, बाहुन, क्षत्री, नेवार र तराई भागमा धिमाल, थारु, राजवंशी, मुसहर लगायत जातजातिका मानिस बसोबास गर्ने थलो र त्यहाँका घरहरू मौलिक शैलीका हुने भन्ने अवधारणा अहिले फगत सपना भएको छ।

प्रिय दाजु धुर्मुस, हजुरले एकै चोटि ३ अर्ब लागतको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने भनेर उद्घोष गरे सँगै कोरोनाको साम्यपछि हजुरको धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको सिटमा व्यक्ति वा संस्थाले आफ्नो नाम राख्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्सी’ अभियान पनि थाल्नु भयो। हजुरले आफ्नो तवरबाट गर्न सकिने सबै गर्नु भयो तर यही बढी महत्त्वाकाङ्क्षा कहिले काहीँ गलत पनि हुन्छ। पुरानो भनाई नै छ ‘घाटी हेरी हाड निल्नु’ अहिले आएर त्यो भनाई मेल खान्छ।

यति ठुलो परियोजना बनाउन खोज्नुलाई मैले हजुरको दुस्साहस गरेको नै ठान्छु। हामीले यो बुझ्न आवश्यक छ संरचना बनाउनु मात्र ठुलो कुरा होइन यसलाई बनाएपछि यसको सुरक्षा मापदण्ड अपनाउनु, बेला बेलामा मर्मत सम्भार गर्नु पर्छ। बल्ल बामे सर्दै गरेको खेल क्षेत्रमा निरन्तर खेलकुद आयोजना हुन सक्छ या सक्दैन ,सरकारले त्यसको लागी के रणनीति बनाएको छ, हाम्रो जस्तो देशमा यस्तो महत्त्वाकाङ्क्षी परियोजना आवश्यक थियो या थिएन त्यसका लागी गुरु योजना के थियो ? त्यसको पनि ख्याल राख्न जरुरी थियो। अस्ति भर्खरको कतारमा आयोजना भएको विश्व कपलाई बनाएका खेलमैदान अहिले भत्काउन थालिएको छ।

हजुरहरूको कलाकारिता देखेर सम्मान, माया, वाहिवाहि गर्दै आइरहेका आम नेपालीले यस पटक पनि साथ सहयोग गरी रहेका थिए नै !

प्रिय धुर्मुस दाजु हजुरले जुन सोच्नु भयो त्यो आफैमा गलत थिएन र होइन पनि। देश विदेशबाट आफुले खाई नखाई जम्मा पारेको त्यो सहयोग अहिले आएर घर न घाट भई उभिएको छ। यसको जवाफ हजुरले ढिलो चाँडो दिनु नै पर्छ। यसबाट हजुरको फाउन्डेसन कदापि पन्छिन सक्दैन। हालसम्मको खर्च आम्दानी होस् या लिनु दिनु पर्ने,अडिट रिपोर्ट, कति रकम उठ्यो र त्यसको हिसाब-किताबको अवस्था के छ भनेर प्रश्न सोध्न मिल्ने अधिकार छ या छैन ? त्यसको भागीदार हजुर हो या फाउन्डेसन ? यी सबको चुस्त दुरुस्त हिसाब दिनु आवश्यक छ। जसका कारण हजुरको फाउन्डेसनलाई लागेको दाग मेटाउन सक्नु हुनेछ।

हजुरले पहिले भूकम्पमा घर बनाए जस्तो सहज थिएन। फाउन्डेसनले यो परिकल्पना गर देखि रङ्गशालाको नाममा विवाद देखिएको थियो। ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ नाममै सरकारले रुपन्देहीमा बहुउद्देश्यीय क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक वर्ष २०७५/०७६ को कार्य योजनामा नै यो रङ्गशाला समावेश गरेर बजेट समेत विनियोजन भइसकेको थियो । तर अहिलेसम्म यो पनि बेखबर बनेको छ।

भरतपुर महानगरपालिकाले स्वामित्व लिए पनि हजुरको ऋणको भारी बोक्न महानगर तयार नभए जस्तो पनि देखिन्छ। मेयरका भनाई अनुसार ऋण नभएको भए उक्त परियोजना पूर्ण हुने थियो। हरेक देशको विकासमा खेलकुदको महत्त्वपूर्ण देन रहेको हुन्छ। केही दिन अगाडि नै नेपाली क्रिकेट टोलीले आफ्नो क्षमता प्रदर्शन गरी सकेको छ। राम्रो खेलाडी उत्पादन गर्नु, सेवा सुविधामा राज्य कमजोर भएको अवस्थामा आफ्नै ठाउँमा गतिलो खेलमैदान हुन सके आर्थिक, सामाजिक र पर्यटकीय क्षेत्र थप चलायमान हुने थियो। यो सोच्नुमा हजुर गलत पक्कै होइन। प्रदेश अनुसार न्यूनतम लगानीमा फरक फरक खेलका खेल मैदान बनाउने तर्फ सोच्न सकेको भए सबै प्रदेशमा रहेका खेल प्रेमी र खेल जगतलाई टेवा पुग्ने थियो ।

प्रिय दाजु धुर्मुस, अन्त्यमा हामी देश वा परदेशमा रहेकाले सार्वजनिक सरोकारका विषयमा प्रश्न गर्न पाउने र त्यसको जवाफ सम्बन्धित निकायले दिने परिपाटी छ। त्यसैले प्रश्न सोध्न र जवाफ लिन पाउनु पर्दछ। यसैले हामी यो सोच्न हुन्न की चन्दा मागेर, पैसा उठाएर समाजसेवा गर्ने, केही आजकल युटुबर पब्लिसिटीका नाममा मानिसका भावनामा खेल्न पल्केकाहरूका लागि पनि रङ्गशाला प्रकरण अबका दिनमा सबैलाई एउटा चेत अवश्य हुनेछ। र, सायद अब सरकारले बनाएमा पनि हजुरलाई वा फाउन्डेसनलाई भने राज्यले सम्झनु, उचित मूल्याङ्कन गर्नु या सम्मानयोग्य ठान्नु जरुरी छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।