धनकुटाको भेडेटार स्वास्थ्य चौकीमा शुलभ मूल्य फार्मेसी सञ्चालनमा
हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६, भेडेटारस्थित भेडेटार स्वास्थ्य चौकीमा शुलभ मूल्य फार्मेसी सञ्चालनमा आएको छ। पौष १४ गतेदेखि औपचारिक रूपमा फार्मेसी सेवा प्रारम्भ गरिएको हो।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईको प्रमुख आतिथ्यता तथा वडा नम्बर ६ का वडाध्यक्ष यम प्रकाश मगरको अध्यक्षतामा आयोजित एक कार्यक्रमबीच फार्मेसीको उद्घाटन गरिएको थियो। उद्घाटन कार्यक्रममा वडा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, आमा समूहका सदस्य, होटल व्यवसायी लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीयवासीलाई सहज र सुलभ मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले फार्मेसी सञ्चालनमा ल्याइएको छ। यसका लागि साँगुरीगढी गाउँपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।
शुलभ मूल्य फार्मेसी सञ्चालनमा आएपछि भेडेटार तथा आसपासका बासिन्दालाई आवश्यक औषधि किन्न अब टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। यस पहलले स्वास्थ्य सेवामा पहुँच बढाउने स्थानीयले विश्वास व्यक्त गरेका छन्।




