कतारमा १३ जना नेपाली कैदीले पाए आममाफी
काठमाडौ । कतार सरकारले विभिन्न जेलमा सजाय काटिरहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ।
कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर उनीहरूलाई ‘अमिरी आममाफी’ प्रदान गरिएको हो।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कतार सरकारको यो उदार निर्णयका लागि हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ। मन्त्रालयले यस कदमलाई नेपाल र कतारबीचको प्रगाढ मित्रता र सौहार्दपूर्ण सम्बन्धको उत्कृष्ट उदाहरणको रूपमा व्याख्या गरेको छ।
मानवीय आधारमा दिइएको यो दयालु क्षमादानले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाएको सरकारको ठहर छ।
नेपालले हालै कतारलाई दुईवटा हात्ती उपहार दिएको थियो, जसलाई कूटनीतिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।
हाल कतारमा करिब ५ लाख नेपालीहरू कार्यरत छन् भने गत वर्ष मात्रै १ लाख ४० हजार ७ सय ९२ जना नेपालीहरू रोजगारीका लागि कतार पुगेका थिए। आममाफी पाएका नेपालीहरूको स्वदेश फिर्तीका लागि आवश्यक समन्वय भइरहेको बुझिएको छ।


