संखुवासभा समाज कतारद्वारा सडक दुर्घटनामा ज्यान गुमाएका अनिल तामाङको परिवारलाई आर्थिक सहयोग
संखुवासभा । संखुवासभा समाज कतारले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सडक दुर्घटनामा ज्यान गुमाएका अनिल तामाङको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।
संखुवासभा जिल्ला चैनपुर नगरपालिका–९, खाम्लिङ निवासी अनिल तामाङको मिति २०८२ साल मंसिर २८ गते आइतबार रोजगारीको सिलसिलामा काठमाडौंमा रहँदा भएको सडक दुर्घटनामा दुःखद निधन भएको थियो । चार जना साना नाबालक सन्तानका पिता रहेका तामाङ घरपरिवारका मुख्य कमाउने सदस्य हुनुहुन्थ्यो । उहाँको असामयिक निधनपछि परिवार गम्भीर आर्थिक तथा मानसिक संकटमा परेको अवस्थालाई मध्यनजर गर्दै संखुवासभा समाज कतारले राहतस्वरूप आर्थिक सहयोग गरेको सस्थाका अध्यक्ष बिरेन मादेन लिम्बुले जानकारी दिनुभयो ।
पीडित परिवारको दुःखमा केही भए पनि मलम लगाउने, साहस र हौसला प्रदान गर्ने उद्देश्यले संखुवासभा समाज कतार परिवारले नेरु १,२०,०००/- (एक लाख बीस हजार रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ। उक्त रकम चैनपुर नगरपालिका–९ का वडा अध्यक्ष श्री शान्ति बहादुर कार्की ज्यूको उपस्थितिमा मृतककी धर्मपत्नी श्रीमती सज्ज माया तामाङलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।
संखुवासभा समाज कतारले विगतदेखि नै विभिन्न आपद विपद् तथा दुःखद परिस्थितिमा परेका संखुवासभाबासी तथा नेपाली समुदायका परिवारहरूलाई आफ्ना सीमित स्रोत साधन भित्र रही निरन्तर सहयोग गर्दै आइरहेको अध्यक्ष लिम्बुले जनाउनु भयो ।
आगामी दिनहरूमा पनि यस्ता मानवीय सेवाका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता समाजले व्यक्त गरेको छ।
स्वर्गीय अनिल तामाङको असामयिक निधनले सम्पूर्ण संखुवासभाबासी तथा प्रवासी नेपाली समुदायलाई गहिरो दुःखमा पारेको छ। मृत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको सस्थाका महासचिव शिव कुमार खत्री जानकारी दिनुभयो ।
यसैबीच, केही समयअघि संखुवासभा समाज कतारले चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीबाट पीडित एक परिवारलाई नेरु १९,९००/- (उन्नाइस हजार नौ सय रुपैयाँ) आर्थिक सहयोगसमेत प्रदान गरेको थियो।
दुःखको यस घडीमा पीडित परिवार एक्लो नरहेको अनुभूति गराउँदै सामाजिक एकता, सहकार्य र मानवीय भावना नै समाजको सबैभन्दा ठूलो शक्ति भएको सन्देश संखुवासभा समाज कतारका महासचिव खत्रीले बताउनु भयो ।-खांदबारी एफएम


