ओखलढुंगामा दुई छुट्टाछुट्टै घटनाको श्रृंखलाबद्ध हत्या तथा लुटपाटमा संलग्न ४ जना पक्राउ
ओखलढुंगा । ओखलढुंगामा भएका दुई वटा गम्भीर हत्या तथा लुटपाट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा २८ वर्षका मिलन भन्ने संगम राई, ३० वर्षका विनोद राई, ३० वर्षकै प्रकाश भुजेल र अर्का ३० वर्षका दोर्जे भन्ने अशोक भुजेल रहेका छन्।
चिसङ्खुगढी गाउँपालिका–६, भदौरेकाे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका अन्दाजी ६० वर्षीय सोवितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियाेगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
उक्त घटना २०८२ पुस १५ गते बेलुकी करिब ८ बजे भएको जनाइएको छ। हत्यापछि पसल तथा घरबाट नगद करिब १ लाख रुपैयाँ, २ ताेला सुनका गरगहना र काँचाे सुन गरि ६ ताेला लुटपाट गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, अभियुक्तद्वारा सिद्धिचरण नगरपालिका–४ मा बसोबास गर्दै आएकी अन्दाजी ५२ वर्षीया रत्नकुमारी कटवाल (कार्की) लाई पनि २०८२ असार २६ गते राति करिव १२ बजे धारिलो हतियार प्रहार गरी हत्या गरेको पुष्टि भएकाे छ ।
हत्यापछि अभियुक्त समूहले मृतकको नगद तथा सुनका गरगहना लुटपाट गरेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले तिनीहरुलाई विभिन्न स्थानबाट संलग्न व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। अनुसन्धानका क्रममा घटनामा प्रयोग गरिएको बन्चरो, लुटपाटमा प्रयोग तथा बनाइएको सुनका गरगहना, खुकुरी, मोबाइल फोन, नगद, र हतियारसहितका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू विरुद्ध कर्तव्य ज्यान, डकैती, हातहतियार खरखजाना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट तालिम प्राप्त कुकुर सहितकाे टाेली तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले घटनाको अनुसन्धान गरेकाे हाे ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरू भए नभएको विषयमा पनि अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएको छ।


