झापामा गुडिरहेको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु
झापा, ८ माघ । झापाको शिवसताक्षी नगरपालिकामा गुडिरहेको ट्याक्टरबाट लडेर एक युवकको मृत्यु भएको छ।
बुधबार साँझ शिवसताक्षी–६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी पक्की सडक खण्डमा गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको ज्यान गएको हो।
बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गरेको मे १ त ७५६३ नम्बरको ट्याक्टरमा सवार सहचालक स्थानीय २२ वर्षीय नारायण राजवंशी अचानक ट्याक्टरबाट सडकमा पछारिएका थिए। साँझ करिब ६:०० बजे भएको उक्त दुर्घटनामा परी राजवंशी गम्भीर घाइते भएका थिए।
घाइते राजवंशीलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई साँझ ६:५५ बजे मृत घोषणा गरेका थिए।
घटनापछि ट्याक्टर र चालक ३० वर्षीय नितेस घिमिरेलाई इलाका प्रहरी कार्यालय शिवगंजले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ।


