सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गर्दै कांग्रेस
काठमाडौ । नेपाली कांग्रेस ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सभापति गगन थापा लाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ। पार्टी केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्दैछ, जहाँ थापालाई प्रधानमन्त्रीका उम्मेदवारका रूपमा औपचारिक घोषणा गरिने कांग्रेसले जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसे का अनुसार केन्द्रीय कार्यसमितिको निर्णयपछि सभापति थापा आफ्नो चुनावी क्षेत्र सर्लाही–४ तर्फ प्रस्थान गर्ने कार्यक्रम छ। थापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवारी दर्ता गराइसकेका छन्। उनका तर्फबाट कांग्रेसका मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको टोलीले माघ ६ गते निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वारेसमार्फत उम्मेदवारी दर्ता गराएको थियो।
गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनले शेरबहादुर देउवा नेतृत्वको पुरानो कार्यसमिति विघटन गर्दै गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। पार्टीभित्रको आन्तरिक कलहका कारण नवनिर्वाचित कार्यसमितिले हालसम्म केन्द्रीय कार्यालय सानेपामा बैठक नगरी बाहिरै बैठक गर्दै आएको थियो। नयाँ कार्यसमिति चयन भएपछि शुक्रबार पहिलोपटक सानेपामा औपचारिक बैठक बस्न लागेको हो।
कांग्रेस नेतृत्वको यो निर्णयलाई आगामी निर्वाचनका लागि पार्टीको स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ। प्रधानमन्त्रीको उम्मेदवार अग्रिम रूपमा सार्वजनिक गरेर कांग्रेसले चुनावी अभियानलाई थप सशक्त बनाउने र नेतृत्वमा एकरूपता देखाउने रणनीति लिएको पार्टी नेताहरूको भनाइ छ।


