गाँजा बोकेको मोटरसाइकल छाडेर चालक फरार, पछाडि बस्ने धनकुटाकी एक महिला पक्राउ
सुनसरी । सुनसरीको धरानमा गाँजा बोकेको मोटरसाइकल छाडेर चालक फरार भएका छन् तर मोटरसाइकलको पछाडि सवार महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले बुधबार धरान उपमहानगरपालिका–२ स्थित चिनियाँ चोकमा प्रदेश १–०२–०४६ प ८९९१ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको थियो । रत्नारोडबाट पुरानो बजारतर्फ जाँदै गरेको मोटरसाइकल रोकेर चेकजाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले रोक्नसाथ गाँजा बोकेको मोटरसाइकल छाडेर चालक फरार भएका थिए । प्रहरीले मोटरसाइकलको पछाडि सवार धनकुटाको चौबिसे गाउँपालिका–७ की ३३ वर्षीया मनमाया लिम्बूलाई भने नियन्त्रणमा लिएको छ ।
लिम्बूले बोकेको कालो झोलाबाट ९ किलो ३ सय ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको मोटरसाइकल र बरामद भएको गाँजासहित लिम्बूलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।


