झापामा प्रहरी देखेपछि मोटरसाइकल नै छाडेर भागे लागुऔषध कारोबारी
झापा । झापाको गौरीगंज गाउँपालिकामा प्रहरीले लागुऔषध बरामद गरेको छ। शुक्रबार दिउँसो करिब १२:०० बजेको समयमा गौरीगंज-१ स्थित कुञ्जीबारी नेपाल-भारत सीमा क्षेत्रमा खटिएको संयुक्त सुरक्षा टोलीले उक्त परिमाणको लागुऔषध फेला पारेको हो।
प्रहरी चौकी कुञ्जीबारी र सशस्त्र प्रहरी बल (BOP) कुञ्जीबारीबाट खटिएको संयुक्त चेकिङ टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ आउँदै गरेको मे ३ प २९६८ नम्बरको मोटरसाइकल चालक सवारी साधन छाडेर फरार भएका थिए। शंकास्पद रूपमा छाडिएको उक्त मोटरसाइकल जाँच गर्ने क्रममा लेगार्डमा झुण्ड्याइएको प्लास्टिकको झोलाभित्र चिनीसँगै लुकाएर राखेको अवस्थामा लागुऔषध फेला परेको थियो।
बरामद गरिएको मोटरसाइकल र लागुऔषध जस्तो देखिने खैरो लिसाइलो पदार्थलाई नियन्त्रणमा लिई साँझ ६:०० बजे इलाका प्रहरी कार्यालय झिलझिले पुर्याइएको थियो। मान्यता प्राप्त तराजुमा तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित १०२ ग्राम फेला परेको छ। उक्त वस्तु तरल र लिसाइलो भएकाले प्लास्टिक छुट्याएर तौल गर्न सम्भव नभएको प्रहरीले जनाएको छ।
हाल प्रहरीले फरार चालकको खोजी गर्नुका साथै घटनाका सम्बन्धमा थप आवश्यक अनुसन्धान अघि बढाएको छ।


