पूर्वमन्त्री भवानी खापुङ नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटी सिंगो टिमसहित नेकपा (एमाले) मा समाहित
तेह्रथुम । भवानी खापुङ नेतृत्वको नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटी सिंगो टिमसहित नेकपा (एमाले) मा समाहित भएको छ। एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौलाको नेतृत्वमा पार्टीका नेता–कार्यकर्तासहित ‘मूलघर’ फर्किएका हुन्। तेह्रथुममा आयोजित कार्यक्रममा उनीहरूलाई नेकपा (एमाले) ले औपचारिक रूपमा स्वागत गरेको छ।
एकीकृत समाजवादी तेह्रथुमले जारी गरेको विज्ञप्तिमा वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर पार्ने उद्देश्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरिएको छ। यस्तो परिस्थितिमा राष्ट्रिय राजनीतिक शक्तिहरू एकताबद्ध र बलियो हुनुपर्ने आवश्यकता महसुस गर्दै एमालेमा समाहित हुने निर्णय गरिएको विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिअनुसार संविधानसभा सदस्यसमेत रहेका खापुङको नेतृत्वमा केन्द्र, प्रदेश, जिल्ला, पालिका र वडा तहका पार्टी संरचना, तेह्रथुम–काठमाडौँ सम्पर्क मञ्च तथा विभिन्न जनसंगठनमा आबद्ध सम्पूर्ण नेता–कार्यकर्तासहित एमालेमा प्रवेश गरिएको हो। यसले नेकपा (एकीकृत समाजवादी) को तेह्रथुम संगठन लगभग पूरै रूपमा एमालेमा विलय भएको संकेत गरेको छ।
समाहित टोलीले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा एमालेका सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन जिल्लावासी नागरिकहरूलाई अपीलसमेत गरेको छ। यस घटनाले तेह्रथुम मा आगामी निर्वाचनअघि एमालेको संगठनात्मक शक्ति थप सुदृढ भएको राजनीतिक विश्लेषकहरूले बताएका छन्।


