मोरङको लेटाङ चिसाङ खोलास्थित सामुदायिक वन क्षेत्रमा अवैध ढुङ्गा उत्खननमा संलग्न ट्रयाक्टर र चालक नियन्त्रणमा
मोरङ,९ माघ । आज ९ गते दिउँसो करिब १४:०० बजेको समयमा जिल्ला मोरङ, लेटाङ नगरपालिका–३ स्थित चिसाङ खोलाको किर्तिमान सामुदायिक वन क्षेत्रमा अवैध रूपमा ढुङ्गा लोड भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले कारबाही गरेको छ।
इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले ढुङ्गा लोड गर्दै गरेको अवस्थामा को १ त ९८४५ नम्बरको ट्रयाक्टर बरामद गरेको हो। सो ट्रयाक्टरका चालक जिल्ला मोरङ, बेलबारी नगरपालिका–१ स्थायी ठेगाना भएका विक्रम तामाङलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका ट्रयाक्टर, ढुङ्गा तथा चालकलाई आवश्यक कानुनी कारबाहीका लागि सव–डिभिजन वन कार्यालय, लेटाङमा बुझाइएको छ।
प्रहरीका अनुसार सामुदायिक वन तथा नदीजन्य पदार्थको अवैध उत्खननले वातावरणीय सन्तुलनमा गम्भीर असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।


