भेडेटार नजिक सवारी दुर्घटना, पाँच जना घाइते
धनकुटा । धनकुटा र सुनसरीको सीमा धरान उपमहानगरपालिका ४ देवीथानस्थित कोशी राजमार्गमा शुक्रबार साँझ सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।
धनकुटा प्रहरीका अनुसार शुक्रबार साँझ भेडेटारबाट धरान जाँदै गरेको को १ ज ३२११ नम्बरको टाटा सुमो गाडीको अगाडिको दायाँ टायर पम्चर भएपछि गाडी अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको प्र १–०६–००१ ह ०००६ नम्बरको अटोसँग ठोक्किएको थियो।दुर्घटनामा अटो चालक धनकुटाको शहीदभूमि गाउँपालिका ६ बस्ने २४ वर्षीय श्यामराज राई घाइते भएका छन्। उनको दायाँ खुट्टा, हात र पातामा चोट लागेको छ ।
यस्तै, सोही स्थानकि १३ वर्षीया आश्मा राई, ५१ वर्षीया बिना राई, २६ वर्षीया रबिका राई र ५ वर्षीय माङहाङ राई पनि घाइते भएका छन्।उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। सबै घाइतेलाई उपचारका लागि धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
दुर्घटनापछि प्रहरीले सुमो चालक मोरङ बेलबारी नगरपालिका–४ बस्ने ४४ वर्षीय ध्रुवबहादुर बस्नेतलाई नियन्त्रणमा लिएको छ।


