दलित समुदायमाथि भइरहेका घटनामा न्यायिक छानबिनको माग गर्दै धनकुटामा बुझाइयो ज्ञापन पत्र
धनकुटा । दलित समुदायसँग सम्बन्धित विभिन्न घटनामा न्यायिक छानबिन, विभेद अन्त्य तथा अधिकार सुनिश्चितताको माग गर्दै धनकुटामा रहेका विभिन्न सङ्घ–संस्थाले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् ।
दलित अधिकारकर्मी तथा सङ्घ–संस्थाहरूले बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का मार्फत प्रधानमन्त्री बालेन्द्र शाहलाई ज्ञापन पत्र पटाउँदै पछिल्ला दिनहरूमा भइरहेका घटनाले दलित समुदायमा पीडामाथि पीडा थपिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
ज्ञापन पत्र बुझ्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले ज्ञापन पत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता जनाउँदै कतिपय कुरा कानुनी जटिलताको कारण न्याय सम्पादनमा समस्या हुने गरेको बताए ।
यस्तो छ ज्ञापन पत्र-
मितिः २०८३÷०१÷१७
सम्माननीय प्रधानमन्त्री ज्यु
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
सिंहदरवार, काठमाडौं ।
मार्फत् श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू
जिल्ला प्रशासन कार्यालय, धनकुटा
विषय ः न्यायिक छानबिन, विभेद अन्त्य तथा दलित अधिकार सुनिश्चितताको माग सम्बन्धमा ।
महोदय,
ललितपुरको सातदोबाटोबाट यही २०८३ साल बैशाख ३ गते पक्राउ परेका सिन्धुली सुनकोशी गाउँपालिका–३ निवासी श्रीकृष्ण विक वैशाख ७ गते बिहान हिरासतभित्रै मृत फेला परेपछि प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । साथै खेल्दाखेल्दै घरभित्र पसेको आरोपमा रोल्पाको गंगादेव गाउँपालिका–५ पाखापानीमा ११ वर्षीय बालक लोकेन्द्र विकमाथि भएको कुटपिट घटना र उद्धारमा पुगेकाहरूमाथि नै भएको आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । साथै विभिन्न स्थानमा दलित समुदायमाथि भइरहेका जातीय विभेदका घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । नेपालमा दलित समुदाय देशको करिब १३.४% जनसंख्या भए पनि उनीहरू अझै पनि गरिबी, विभेद र हिंसाको चपेटामा रहेका छन् । नेपालमा करिब ३६% दलितहरू अत्यन्त गरिबीमा छन् र विगत दुई दशकमा दर्जनौं दलितहरूको हत्या भएका छन् । साथै जातीय विभेदका अधिकांश घटनाहरू कानुनी दायरासम्म नपुग्ने अवस्थाले दण्डहीनता बढाएको छ ।
यसैबीच, सरकारले दलित समुदायप्रति माफी मागेको भए पनि व्यवहारमा विभेद र हिंसा अन्त्य हुन नसक्नुले राज्यको प्रतिबद्धतामाथि प्रश्न खडा भएको छ । नेपालको संविधानले समानता, मानव अधिकार र सामाजिक न्याय सुनिश्चित गरेको अवस्थामा पनि यस्ता घटनाहरू दोहोरिनु गम्भीर विषय हो । अतः निम्न मागहरू सम्बोधन गरिदिनुहुन प्रधानमन्त्रीज्यू समक्ष जोडदार माग गर्दछौं ।
हाम्रा मागहरुः
१) सिन्धुली घटनाको निष्पक्ष, स्वतन्त्र र उच्चस्तरीय न्यायिक छानबिन गरी दोषीमाथि कडा कारबाही गरियोस् ।
२) पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत तथा सुरक्षा व्यवस्था तत्काल सुनिश्चित गरियोस् ।
३) दलित बालकमाथि भएको कुटपिट लगायत सबै जातीय विभेदका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरियोस् ।
४) दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि प्रभावकारी नीति, कडा कार्यान्वयन, निगरानी संयन्त्र तथा जनचेतनामूलक अभियान तत्काल सञ्चालन गरियोस्
५) सरकारले सार्वजनिक रुपमा दलित समुदायमाथि भएको विभेद अन्त्यका लागि गरेको आममाफीलाई व्यवहारमा रुपान्तरण गरियोस् ।
अन्त्यमा, दलित समुदायमाथि हुने सबै प्रकारका अन्याय, हिंसा र विभेद अन्त्य गर्न राज्यले तत्काल प्रभावकारी कदम चाल्नेछ भन्ने अपेक्षा गरेका छौं ।
१) दलित एकता समाज धनकुटा ः कोपिला शंकर (अध्यक्ष)
२) दलित विकास केन्द्र नेपाल धनकुटा ः गोपाल बराइली (अध्यक्ष)
३) दलित महिला संघ (फेडो) धनकुटा ः लक्ष्मी परियार (अध्यक्ष)
४) परियार सेवा समाज धनकुटा ः भैरवलाल पाँचकोटी (अध्यक्ष)
५) पारालिगल सहयोग समिति, धनकुटा ः अम्विका परियार (सदस्य)
६) दलित आन्दोलनका अगुवा ः मदन बसेल


