धनकुटाको चौबिसे स्थित कुरुले तेनुपाको बन्दुकेडाँडा कृषिकर्मको सिकाई थलोका रूपमा विकासित हुंदै

हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं. ३ स्थित कुरुले तेनुपाको बन्दुकेडाँडा तीन दशकसम्म बसाइँसराइका कारण उजाड बनेको थियो तर अहिले यही क्षेत्र सबैको आकर्षणको केन्द्र बनेको छ। कुनै समय “केही गर्न सकिँदैन” भनेर छाडिएको भूमि अहिले हराभरा बन्दै कृषिकर्मको सिकाई थलोका रूपमा विकास भएको छ।

बसाइँसराइ बढ्दै जाँदा स्थानीयवासी लोकेन्द्र कुमार याखा, भोजकुमार काफ्ले, गोपीकृष्ण भण्डारी र दीर्घमान तामाङले २०७३ सालमा “तमोर पर्माकल्चर सिकाई थलो” संस्था दर्ता गरे। सोही संस्थामार्फत बन्दुकेडाँडामा कृषि क्रान्ति सम्भव भएको हो, जसले बसाइँ सरेर गएकालाई समेत पुनः आकर्षित गर्न थालेको छ।

हाल बन्दुकेडाँडामा स्याउसहित आरुबखडा, आरू, एभोकाडोलगायत ३५ भन्दा बढी प्रजातिका फलफूल उत्पादन हुन थालेका छन्। करिब ९६ रोपनी क्षेत्रफलमा सुरु गरिएको यस परियोजना अहिले करिब १०३ रोपनीमा फैलिएको छ। सुरुमा २५० बोटबाट आरम्भ गरिएको बगैँचा अहिले ५०० भन्दा बढी बोटमा विस्तार भइसकेको छ, जसमा ३५० भन्दा बढी स्याउका बोट छन्।

संस्थाका कोषाध्यक्ष दीर्घमान तामाङका अनुसार, गत वर्ष फलफूल बिक्रीबाट ३ लाख रुपैयाँ र नर्सरीबाट ९ लाख रुपैयाँ आम्दानी भएको छ।

अध्यक्ष लोकेन्द्र कुमार याखाका अनुसार, पानीको समस्या समाधान नगरी कृषिको विकास र बसाइँसराइ रोक्न सम्भव थिएन। त्यसैले बर्खे पानी सङ्कलन गर्ने अवधारणा अघि सारिएको हो। हाल सिकाई थलोमा ३४ लाख लिटर क्षमताको पोखरी निर्माण गरिएको छ, जसमा वर्षायाममा सङ्कलित पानी वर्षभर सिँचाइका लागि प्रयोग गरिन्छ। साथै, स्थानीय जरुवा खोलाबाट लिफ्टिङ प्रणालीमार्फत पानी तानेर १ लाख लिटर क्षमताको ट्याङ्कीबाट वितरण गरिँदै आएको छ।

स्थानीयका अनुसार २०४५ सालको भूकम्पपछि यहाँका धेरै पानीका मुहान सुके, जसले पानीको समस्या बढाउँदै लग्यो र बसाइँसराइ तीव्र बनायो। प्रारम्भमा पानी व्यवस्थापन चुनौतीपूर्ण भए पनि अमेरिकी नागरिक राजीव गोयलको सुझावमा आकासे पानी सङ्कलनका लागि पाँचवटा ठूला पोखरी निर्माण गरिए। ती पोखरीमा बर्खामा करिब ३४ लाख लिटर पानी सङ्कलन हुने गरेको छ, जसले सिँचाइको दीर्घकालीन समाधान दिएको छ।

अहिले यही अभ्यासबाट प्रेरित भएर स्थानीयवासीले पनि आफ्नै स्तरमा आकासे पानी सङ्कलन गर्न थालेका छन्। यसले बन्दुकेडाँडालाई मात्र होइन, समग्र कुरुले तेनुपा क्षेत्रलाई कृषिमा आत्मनिर्भर बनाउने दिशामा अघि बढाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।