धनकुटामा धर्मशाला निर्माणका लागि महापुराण आयोजना हुंदै
धनकुटा । धनकुटा नगरपालिका वडा नं ६ को धर्मगंगा कैलाशनाथ धाम मन्दिरमा बैसाख ६ गतेबाट श्री पुरुषोत्तम महात्म्य तथा श्रीमद् मत्स्यमहापुराण आयोजना हुने भएको छ ।
मिलिजुली महिला समूहले आईतबार धनकुटामा पत्रकार सम्मेलन गर्दै १८ पुराण सम्पन्न गरी सामुदायिक भवन तथा धर्मशाला निर्माण गर्ने जानकारी दिएको छ । हालसम्म १८ पुराणमध्ये ६ वटा पुराण सम्पन्न भइसकेको र ६ गतेदेखि १४ गतेसम्म अर्को पुराण सञ्चालन हुने समूहकी अध्यक्ष निरुता घिमिरे कटुवालले जानकारी दिनुभयो ।
कार्यक्रममा युवा पण्डित श्री नारायण शरण काफ्ले (शास्त्री) ज्यूद्वारा संगीतमय कथा प्रवचन गरिने उनको भनाई छ । कार्यक्रम अन्तर्गत जेठ ६ गते कलश यात्रा तथा मण्डप पूजा, जेठ ७ गतेदेखि १३ गतेसम्म कथा पाठ तथा जेठ १४ गते समापन गरिने कार्यक्रम तय गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
दैनिक रूपमा बिहान ६ बजेदेखि पूजन, बिहान ८ बजेदेखि पाठ पारायण, दिउँसो १२ बजेदेखि २ बजेसम्म पुरुषोत्तम महात्म्य कथा तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म मत्स्य महापुराण कथा सञ्चालन हुने आयोजकले जनाएको छ । साथै, प्रत्येक साँझ राष्ट्रिय कलाकारहरूद्वारा दैनिक भजन कीर्तन प्रस्तुति रहने बताइएको छ । आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनलाई कार्यक्रममा सहभागी भई कथा श्रवण तथा यथाशक्ति सहयोग गर्न आग्रह गरेको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनकुटाका शाखा अध्यक्ष बिदुर खवासले पुराण सफलताको शुभकामना दिनुभएको थियो ।


