धनकुटा बजारबाट दिउँसै सुनको सिक्री लुटेर फरार भएका तीन जना धरानबाट यसरी परे पक्राउ
धनकुटा । धनकुटा बजारबाट दिउँसै सुनको सिक्री लुटेर फरार भएका तीन जनालाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको दुधौली नगरपालिका–६ का ३० वर्षीय धनबहादुर तामाङ, वडा नं. १२ का ३२ वर्षीय सन्तोष तामाङ र वडा नं. १० का ३८ वर्षीय राजु तामाङ रहेका छन्।
जिल्ला प्रहरी कार्यालय धनकुटाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोकी अनुसार उनीहरूलाई गएराति धरानस्थित एक होटलबाट पक्राउ गरिएको हो।
गत शुक्रबार दिउँसो धनकुटा नगरपालिका–७ मदनचोकमा सहिदभूमि गाउँपालिका–३ की विष्णुमाया राईबाट एक तोला दुई आना सुनको सिक्री ठगी शैलीमा लुटिएको थियो।
प्रहरीका अनुसार आरोपितहरूले आफूहरूसँग विदेशी मुद्रा रहेको र पैसा साट्न बैंकमा गहना आवश्यक पर्ने भन्दै विष्णुमायालाई सिक्रीको बदलामा ६ लाख ५० हजार रुपैयाँ दिने प्रलोभन देखाएका थिए। त्यसपछि उनीहरू सिक्री लिएर फरार भएका थिए।
घटनापछि प्रहरीले सीसीटीभी फुटेज र मोबाइल फोनको लोकेसनका आधारमा अनुसन्धान अघि बढाएको थियो। त्यसक्रममा संलग्न व्यक्तिहरूको पहिचान गरी धरान प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि धनकुटा ल्याइएको छ।
प्रहरीले उनीहरू पेशेवर रूपमा यस्तै प्रकारका ठगी तथा लुटपाटमा संलग्न हुन सक्ने आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Screenshot


