धनकुटाको पाख्रीबास नगरपालिकाद्वारा सातामा दुई दिन सार्वजनिक बिदा दिन नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन
धनकुटा,१ जेठ । पाख्रीबास नगरपालिकाले सातामा दुई दिन सार्वजनिक बिदा दिने नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै शिक्षा विकास तथा समन्वय इकाइ धनकुटाको च.नं. ७१३ मिति २०८३ वैशाख २८ गते प्राप्त पत्रअनुसार नेपाल सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।
उक्त निर्णयलाई शैक्षिक संस्थामा समेत एकरूपता कायम हुने गरी कार्यान्वयन गर्न नगरपालिकाले अनुरोध गरेको छ । अब पाख्रीबास नगरपालिकाभित्रका विद्यालयहरूमा सातामा दुई दिन अर्थात् शनिबार र आइतबार बिदा लागू हुने भएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार लिम्बु र नगर प्रमुख ज्ञानबहादुर गुरुङद्वारा हस्ताक्षरित सूचनामा निर्णय कार्यान्वयनमा सहजीकरण गर्न विद्यालय प्रशासनलाई आग्रह गरिएको छ ।



