धनकुटाको भेडेटारमा दयाहाङ राई र सुदन किरातीको उपस्थितिमा भव्य रुपमा यसरी सम्पन्न गरियो उभौली साकेला(फोटो फिचर)
हिराराज राई, धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटारमा किरात राई यायोक्खा धनकुटाद्वारा आयोजित किराती समुदायको महान चाड उभौली साकेला सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। किरात समुदायको मौलिक संस्कृति, परम्परा तथा पहिचान झल्किने उक्त कार्यक्रममा स्थानीयवासी, बुद्धिजीवी, युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता दयाहाङ राई उपस्थित हुनुभएको थियो भने विशेष अतिथिका रूपमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती को सहभागिता रहेको थियो। त्यसैगरी युवापुस्तामाझ लोकप्रिय गायक पूर्ण राई लगायत अन्य कलाकारहरूको पनि विशेष उपस्थिति रहेको थियो।
कार्यक्रममा साकेला सिली नृत्य, विविध सांस्कृतिक प्रस्तुति तथा किरात संस्कृतिसँग सम्बन्धित आकर्षक झाँकीहरू प्रस्तुत गरिएको थियो। सहभागीहरूले सामूहिक रूपमा साकेला नाच प्रस्तुत गर्दै उभौली चाडको महत्व, सांस्कृतिक पहिचान तथा सामुदायिक एकतालाई उजागर गरेका थिए।
प्रमुख अतिथि दयाहाङ राईले किरात समुदायको भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सबैले हातेमालो गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। विशेष अतिथि सुदन किरातीले यस्ता सांस्कृतिक कार्यक्रमहरूले समुदायबीच एकता, पहिचान तथा आपसी सद्भाव अझ मजबुत बनाउने धारणा व्यक्त गर्नुभयो।
किराती समुदायको महान चाड उभौली साकेला विशेषगरी राई किरात समुदायले मनाउने महत्वपूर्ण सांस्कृतिक चाड हो। यो चाड प्रकृतिप्रति सम्मान, कृषि जीवनसँगको सम्बन्ध तथा सामूहिक एकताको प्रतीकका रूपमा लिइन्छ। “उभौली” शब्दको अर्थ “माथितिर उक्लिने” भन्ने हुन्छ। गर्मी मौसम सुरु भएसँगै मानिस तथा पशुहरू लेकतिर उक्लिने परम्परासँग यसको सम्बन्ध रहेको मानिन्छ। यो चाड प्रायः बैशाख पूर्णिमाको आसपास मनाइन्छ।
साकेला चाडमा किराती समुदायले आफ्ना पुर्खा तथा प्रकृतिको पूजा गर्दै राम्रो बाली, सुख–समृद्धि तथा शान्तिको कामना गर्ने गर्दछन्। भूमि, पानी, वनस्पति तथा सूर्यजस्ता प्राकृतिक शक्तिप्रति कृतज्ञता व्यक्त गर्नु यस चाडको मुख्य विशेषता हो। चाडको प्रमुख आकर्षण साकेला सिली नृत्य हो, जसमा ढोल–झ्याम्टा तथा किराती बाजागाजासहित गोलो घेरामा सामूहिक रूपमा नाच प्रस्तुत गरिन्छ। यस नृत्यमार्फत खेतीपाती, चराचुरुङ्गी, जनावर तथा दैनिक जीवनका गतिविधिहरूलाई कलात्मक रूपमा अभिव्यक्त गरिन्छ।
उभौलीसँगै उधौली चाड पनि किराती समुदायले मनाउने गर्दछ, जुन मंसिर महिनातिर पर्दछ। उभौली तथा उधौलीले प्रकृतिको चक्र, मौसम परिवर्तन तथा मानव जीवनबीचको घनिष्ठ सम्बन्धलाई झल्काउँछ।








