रास्वपा पाख्रीबासद्वारा वडागत जिम्मेवारी बाँडफाँड, कुन वडाले पायो कुन विभाग ?
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाख्रीबास नगर समितिले आफ्नो कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी तथा जनमुखी बनाउन वडागत रूपमा विभिन्न विभागहरूको जिम्मेवारी बाँडफाँड गरेको छ।
प्रथम नगर अधिवेशन लगत्तै नगर समितिका सभापति विष्णु विक्रम निरौलाको अध्यक्षतामा जेठ १९ गते सम्पन्न भेलाले उक्त निर्णय गरेको हो।
भेलाले नगरका १० वटै वडालाई विभिन्न क्षेत्रगत विभागहरूको जिम्मेवारी तोकेको छ। यस व्यवस्थाले वडा तहमा उत्तरदायित्व बढाउने, कार्यसम्पादनलाई व्यवस्थित बनाउने तथा नागरिकका समस्याहरू सम्बन्धित विभागमार्फत छिटो समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
निर्णय अनुसार वडा नं. १ लाई अर्थनीति विभाग, महिला तथा सामाजिक विकास विभाग तथा दिगो विकास विभागको जिम्मेवारी दिइएको छ।
वडा नं. २ लाई मानवीय विकास प्रवर्द्धन विभाग, उद्योग तथा वाणिज्य विभाग तथा युवा तथा खेलकुद विभागको जिम्मेवारी प्रदान गरिएको छ।
वडा नं. ३ लाई भ्रष्टाचार निवारण तथा सुशासन विभाग, RAT प्रवर्द्धन विभाग, स्वास्थ्य तथा जनसंख्या विभाग तथा मानव अधिकार विभागको जिम्मेवारी दिइएको छ।
त्यसैगरी वडा नं. ४ लाई प्रशिक्षण विभाग, जनसम्पर्क विभाग तथा गुनासो व्यवस्थापन विभागको जिम्मेवारी तोकिएको छ। वडा नं. ५ लाई संगठन विभाग, श्रम तथा उपभोक्ता हित विभाग तथा शिक्षा विभागको जिम्मेवारी दिइएको छ।
वडा नं. ६ लाई अभियान तथा प्रचार–प्रसार विभाग, नेतृत्व क्षमता तथा मानव संसाधन विकास विभाग र मुद्रा तथा पुँजी बजार विभागको जिम्मेवारी प्रदान गरिएको छ।
वडा नं. ७ लाई यातायात विभाग, सहकारी विभाग तथा वन, वातावरण तथा प्राकृतिक स्रोत विभागको जिम्मेवारी दिइएको छ।
त्यस्तै वडा नं. ८ लाई कानुन तथा न्याय विभाग, सार्वजनिक लेखा समीक्षा विभाग तथा पर्यटन तथा संस्कृति विभागको जिम्मेवारी तोकिएको छ।
वडा नं. ९ लाई विकास योजना तथा नीति तर्जुमा विभाग तथा पूर्वाधार विकास अनुगमन विभागको जिम्मेवारी प्रदान गरिएको छ भने वडा नं. १० लाई उत्पादन प्रवर्द्धन विभाग, तथ्याङ्क अनुसन्धान तथा अभिलेखीकरण विभाग तथा कृषि विभागको जिम्मेवारी दिइएको नगर समितिले जनाएको छ।
नगर समितिका अनुसार यस कार्यविभाजनले संगठनात्मक संरचनालाई थप सुदृढ बनाउँदै वडा तहमा प्रभावकारी समन्वय र जनसेवालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


