धनकुटाको उत्तरपानी बहुप्राविधिक शिक्षालयमा खानेबानी सुधार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
धनकुटा । विश्व खाद्य स्वच्छता दिवस–२०२६ (जुन ७, २०२६/जेठ २४, २०८३) लाई “सबैतिर स्वच्छ खानपान : खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रमअन्तर्गत तेस्रो दिन खानेबानी सुधार सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
“नसर्ने रोग (Non-Communicable Diseases) न्यूनीकरणका लागि खानेबानीमा सुधार” विषयमा आयोजित कार्यक्रममा श्री उत्तरपानी बहुप्राविधिक शिक्षालय, धनकुटाका कृषि विज्ञान, पशु विज्ञान तथा फार्मेसी संकायका १२० जना विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा स्वस्थ जीवनशैली, सन्तुलित आहार, खाद्य स्वच्छता तथा नसर्ने रोगहरूको जोखिम न्यूनीकरणमा सही खानेबानीको महत्वबारे जानकारी दिइएको थियो। सहभागीहरूलाई दैनिक जीवनमा अपनाउन सकिने स्वस्थ खानपानका उपायहरूबारे समेत सचेत गराइएको आयोजकले जनाएको छ।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विभिन्न सचेतनामूलक गतिविधिहरू सञ्चालन भइरहेका छन्। कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण उत्तरपानी बहुप्राविधिक शिक्षालय परिवारप्रति आयोजकले आभार व्यक्त गरेको छ।


