नमस्ते झरनाको विकासमा गाउँपालिकाको सक्रियता
हिराराज राई, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ६ भेडेटार नजिक सिम्सुवामा अवस्थित नमस्ते झरनालाई सुरक्षित तथा आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले विभिन्न पर्यटन पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ।
गाउँपालिकाको लगानीमा झरना क्षेत्रको संरक्षण, पर्यटकको सुरक्षा तथा सहज आवागमनलाई प्राथमिकतामा राख्दै तारजाली, पहुँचमार्ग लगायतका आवश्यक संरचना निर्माण भइरहेका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण नमस्ते झरनामा आवश्यक पूर्वाधार निर्माणले आन्तरिक तथा बाह्य पर्यटकलाई थप सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अनुसार झरना क्षेत्रका जोखिमयुक्त स्थानमा सुरक्षात्मक तारजाली जडान गरिनुका साथै आवतजावत सहज बनाउन पहुँचमार्ग निर्माण भइरहेको छ। निर्माणाधीन संरचनाले सम्भावित दुर्घटनाको जोखिम न्यूनीकरण गर्नुका साथै पर्यटकलाई झरनाको मनोरम दृश्य सुरक्षित रूपमा अवलोकन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
स्थानीयवासी तथा पर्यटन व्यवसायीले पनि पूर्वाधार निर्माण कार्यले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताएका छन्। उनीहरूका अनुसार सुरक्षित र व्यवस्थित वातावरण तयार भएपछि पर्यटकको आगमन बढ्नुका साथै स्थानीय आर्थिक गतिविधि समेत थप चलायमान हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले नमस्ते झरनालाई दीर्घकालीन रूपमा व्यवस्थित, सुरक्षित र आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्दै स्थानीय पर्यटन प्रवर्द्धन तथा आर्थिक समृद्धिमा योगदान पुर्याउने लक्ष्य राखेको जनाएको छ।







