प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई
काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिको जवाफ चितवनबाट नभई संघीय संसदबाट आउनुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसदमा उठाइएको विषयको जवाफ बाहिरबाट दिइनु गलत भएको टिप्पणी गरे।
उनले भने, “सदनमा विरोधका लागि विरोध गरेको होइन। प्रधानमन्त्रीले दिनुभएको राष्ट्रघाती अभिव्यक्ति रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि राख्दै आएका थियौँ, तर सुनुवाइ भएन। के प्रधानमन्त्रीका अभिव्यक्ति राष्ट्रहितमा थिए? यदि राष्ट्रहितमा छन् भने रेकर्डबाट नहटाइयोस्, तर यदि राष्ट्रघाती छन् भने हटाइनुपर्छ।”
सांसद राईले थपे, “चितवनबाट उहाँको जवाफ चाहिएको होइन, हामीले यो सदनबाटै उत्तर खोजेका हौं।”


