बालेन नेतृत्व सरकारको सय दिने उपलब्धि सार्वजनिक
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारले कार्यकालको सय दिन पूरा गरेको अवसरमा आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको छ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले सय दिनमा भएका प्रमुख काम र उपलब्धिबारे जानकारी दिएको हो।
जेन–जी आन्दोलनपछि सम्पन्न निर्वाचनपश्चात् चैत १३ गते गठन भएको सरकारले सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधारलाई प्राथमिकतामा राख्दै विभिन्न निर्णय कार्यान्वयन गरेको जनाएको छ।
सरकारले सार्वजनिक गरेको विवरणअनुसार २०४८ सालपछि सत्ता र शक्तिमा पुगेका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन, १ हजार ५९४ राजनीतिक नियुक्ति खारेज, कर्मचारी ट्रेड युनियन तथा विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसम्बन्धी समस्या समाधान, सिंहदरबार तथा काठमाडौंमा केन्द्रित पहुँचवाला कर्मचारी व्यवस्थापन, कानुनबमोजिम सुविधा पाउनेबाहेकका कर्मचारीको सवारी सुविधा कटौती, सहकारी समस्या समाधानको पहल तथा सरकारी र सार्वजनिक जग्गा फिर्ता गर्ने प्रयासलाई प्रमुख उपलब्धिका रूपमा उल्लेख गरिएको छ।
त्यसैगरी मन्त्रालयको संख्या घटाउने, अनावश्यक दरबन्दी हटाउने, सेवाप्रवाहमा सुधार, प्रक्रियागत झन्झट कम गर्ने, सयभन्दा बढी कानुन संशोधनको तयारी, भ्रष्टाचार तथा वित्तीय अपराधमा आक्रामक छानबिन, निर्णय प्रक्रियामा सुधार तथा कर्मचारी सरुवामा पहिलोपटक अनलाइन प्रणाली लागू गरिएको पनि सरकारले जनाएको छ।


