प्रदेश खारेजी स्वीकार्य छैन : सांसद आरेन राई
काठमाडौं । आरेन राईले प्रदेश खारेजी कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधान संशोधनका नाममा प्रदेश व्यवस्था, लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने प्रयास नगर्न चेतावनी दिए।
राईले संविधान संशोधन गर्नुपर्ने भए महिलाको ३३ प्रतिशत प्रतिनिधित्वलाई ५० प्रतिशत पुर्याउने, साथै आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारु, उत्पीडित तथा पछाडि पारिएका समुदाय, विद्यार्थी, मजदुर र किसानका अधिकारलाई अझ सुदृढ बनाउने दिशामा संशोधन गर्नुपर्ने धारणा राखे।
उनले संविधान संशोधनको नाममा लोकतान्त्रिक व्यवस्थामाथि हस्तक्षेप गरिए सिंहदरबारमा बस्ने शासकविरुद्ध फेरि पनि विद्रोह हुन सक्ने चेतावनीसमेत दिए।
सांसद राईले यसअघि उठाएको आफ्नो माग दोहोर्याउँदै प्रधानमन्त्री बालेन्द्र साहले “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन आग्रह गरे।


