माइतीघर घटनामा सांसद आरेन राईमाथिको आक्रमण प्रयासको निष्पक्ष छानबिन गर्न श्रम संस्कृति पार्टीको माग
काठमाडौं । श्रम संस्कृति पार्टीले आफ्ना महासचिव तथा प्रतिनिधिसभा सदस्य आरेन राईमाथि माइतीघर मण्डलामा भएको भनिएको आक्रमण प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका सह–प्रवक्ता जीवन बिष्टद्वारा आइतबार जारी प्रेस विज्ञप्तिअनुसार असार २६ गते माइतीघर मण्डलामा जनताको दुःख, पीडा र भावनाप्रति ऐक्यबद्धता जनाउन पुगेका सांसद राईमाथि धार्मिक समूहको आवरणमा रहेका केही व्यक्तिले दुर्व्यवहार गर्नुका साथै आक्रमण गर्ने प्रयास गरेका थिए।
उक्त दिन मुगुका गणेश नेपालीले काठमाडौं महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि आत्मदाह प्रयास गरेको घटनाको विरोधमा नागरिकहरू स्वतःस्फूर्त रूपमा माइतीघर मण्डलामा भेला भएका थिए।
श्रम संस्कृति पार्टीले संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण रूपमा भेला हुने अधिकार तथा राजनीतिक गतिविधिमा सहभागी हुने मौलिक हकमाथि हस्तक्षेप गर्ने कुनै पनि गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र विधिको शासनविपरीत हुने जनाएको छ।
पार्टीले घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कारबाही गर्न, भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन तथा संविधानले प्रत्याभूत गरेका मौलिक अधिकारको संरक्षण सुनिश्चित गर्न नेपाल सरकारसँग माग गरेको छ।
साथै, सम्पूर्ण राजनीतिक दल, सामाजिक संघ–संस्था र नागरिकलाई संयम, सहिष्णुता तथा लोकतान्त्रिक आचरण अपनाउन पनि पार्टीले आग्रह गरेको छ।


