रास्वपाले गर्यो ११ निर्णय सार्वजनिक, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनीत
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी संगठन, सरकारसँगको समन्वय, आगामी स्थानीय तह निर्वाचनको तयारी तथा सामाजिक उत्तरदायित्वसँग सम्बन्धित ११ वटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ।
महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिअनुसार बैठकले सुनसरीलगायत विभिन्न जिल्लामा हालै भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
बैठकले पार्टीको प्रथम महाधिवेशनको विस्तृत समीक्षा गर्दै लोकतान्त्रिक अभ्यासका क्रममा भएका कमी–कमजोरीबाट पाठ सिकेर संगठनलाई थप परिपक्व बनाउने निर्णय गरेको छ।
पार्टी विधानअनुसार सभापतिसहित निर्वाचित पदाधिकारीहरू रहने गरी पार्टी सचिवालय गठन गरिएको छ। सचिवालयमा उपसभापति डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य रहनेछन्।
बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र शाहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनीत गर्ने निर्णय पनि गरेको छ।
त्यसैगरी बैठक सञ्चालन कार्यविधि, सदस्यता सम्बन्धी कार्यविधि, सदस्यता अद्यावधिक तथा जिम्मेवारी बाँडफाँट र विभाग सम्बन्धी कार्यविधिलगायतका साङ्गठनिक दस्तावेज संशोधन सुझाव समेटेर पारित गर्ने निर्णय गरिएको छ।
विभागीय नेतृत्व गर्न इच्छुक केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यहरूबाट सम्बन्धित विभागको लक्ष्य र कार्ययोजनासहित ६ महिनाको योजना माग गर्ने निर्णय पनि गरिएको छ।
सरकारमा सहभागी पार्टीका मन्त्रीहरूको कार्यसम्पादनलाई जनमुखी बनाउन तथा पार्टीसँग समन्वय बढाउन महिनामा कम्तीमा एक दिन केन्द्रीय समिति सदस्यहरूको उपस्थितिमा मन्त्रीहरूसँग अनिवार्य छलफल गर्ने व्यवस्था गरिने भएको छ।
आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै योग्य, इमानदार र सक्षम उम्मेदवार छनोटका लागि आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय पनि बैठकले गरेको छ।
रास्वपाले ‘अन्तर्राष्ट्रिय युवा दिवस–२०२६’ लाई युवा जागरण र रूपान्तरणको उत्सवका रूपमा मनाउने तथा त्यसको आयोजक समितिको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय गरेको छ।
त्यस्तै नागरिकका गुनासा प्रत्यक्ष सुन्न र समाधानका लागि सहजीकरण गर्न केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा नियमित रूपमा जनप्रतिनिधि तथा पदाधिकारीको अनिवार्य उपस्थिति रहने संयन्त्र निर्माण गर्ने निर्णय पनि गरिएको छ।
बैठकले सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै पार्टीका सबै तहका सदस्यलाई आत्महत्या र आत्मदाहसँग सम्बन्धित घटना वा समाचार सामाजिक सञ्जालमा सेयर वा सम्प्रेषण नगर्न निर्देशन जारी गरेको जनाएको छ।




