श्रम संस्कृति पार्टीमा विवाद चर्कियो, अध्यक्ष साम्पाङविरुद्ध क्यूआरटीको ‘भण्डाफोर अभियान’ घोषणा
सुनसरी । श्रम संस्कृति पार्टीभित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टीको क्विक रेस्पोन्स टिम (क्यूआरटी) का संयोजक ज्ञानु चाम्लिङले पार्टी अध्यक्ष हर्कराज साम्पाङविरुद्ध ‘भण्डाफोर अभियान’ सञ्चालन गर्ने घोषणा गरेका छन्।
मंगलबार जारी विज्ञप्तिमा चाम्लिङले पार्टी विधानविपरीत सञ्चालन भइरहेको, नेतृत्व स्वेच्छाचारी बनेको तथा संगठनभित्र विभिन्न विसङ्गति बढ्दै गएको आरोप लगाएका छन्। उनले पार्टीको शुद्धीकरणका लागि अभियान सुरु गरिएको उल्लेख गरेका छन्।
चाम्लिङद्वारा हस्ताक्षरित विज्ञप्तिमा ३४ जना सदस्यको समर्थन रहेको जनाइएको छ। ती सदस्यहरू पार्टीको जनसंगठनअन्तर्गत सुरुदेखि नै क्यूआरटीमा आबद्ध रहँदै विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसअघि सोमबार पार्टी अध्यक्ष हर्कराज साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत क्यूआरटी विघटन भएको घोषणा गर्दै नयाँ सुरक्षा विभाग गठन गर्ने निर्णय सार्वजनिक गरेका थिए।
अध्यक्षको उक्त निर्णयपछि पार्टीभित्र विशेषगरी युवा पंक्तिमा असन्तुष्टि बढेको बताइएको छ। क्यूआरटीमा आबद्ध सदस्यहरूले अध्यक्ष साम्पाङले संगठन सञ्चालनमा एकलौटी निर्णय लादेको, अलोकतान्त्रिक शैली अपनाएको तथा पार्टी विधानविपरीत गतिविधि गरेको आरोप लगाएका छन्।
यस विषयमा पार्टी अध्यक्ष हर्कराज साम्पाङको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।



