एमाले र नेकपा मिल्दा पनि बागमतीमा ३ सिट कम छ: महेश बस्नेत
काठमाडौं, १९ साउन । नेकपा एमालेका सचिव महेश बस्नेतले बागमती प्रदेश सरकार निर्माणका विषयमा नेकपा (एमाले) र नेकपाबीच भएको सहमति भए पनि ३ सिट अपुग भएको बताएका छन् ।
उनका अनुसार एमाले र नेकपा बिचको सहमति अनुसार प्रदेशका सांसदहरू र पार्टी नेतृत्वबीच निरन्तर आन्तरिक छलफल भइरहेको छ।
`हाम्रो पहिलो प्राथमिकता सहमतिमै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने हो, यदि सहमति जुट्न सकेन भने संसदीय दलको भावना र लोकतान्त्रिक प्रक्रियाअनुसार निर्णय गरिनेछ´ उनले पछिल्लो गठबन्धनका बारेमा भनेका छन् ।
उनका अनुसार एमाले र नेकपा मिल्दा पनि प्रदेश सभामा बहुमतका लागि अझै ३ सिट आवश्यक पर्ने अवस्था छ। `त्यसैले सबै पक्षलाई समेटेर स्थायी र जिम्मेवार सरकार निर्माणका लागि पार्टी अध्यक्षलगायत शीर्ष नेतृत्वले आवश्यक पहल र निर्देशन गरिरहनुभएको छ,` उनले भने ।
बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन चाहिन्छ, कुल सदस्य संख्या ११० रहेको छ।
जसअनुसार नेपाली कांग्रेस: ३६ सांसदसहित सबैभन्दा ठूलो दल रहेको छ भने नेकपासँग २६ र एमाले २७ सांसद मात्रै रहेका छन।
यसैबीच, आज केही सञ्चारमाध्यमले अध्यक्ष निवासमा भएको छलफललाई लिएर संसदीय दलका नेता जगन्नाथ खतिवडाबारे भ्रामक समाचार सम्प्रेषण गरेको दाबी गरेका छन् ।
छलफलका क्रममा आफ्नो धारणा राख्ने क्रममा थपलिया केही भावुक हुँदा गला अवरुद्ध भएको र सामान्य स्वास्थ्य असहजता देखिएको अवस्थालाई तोडमोड गरेर प्रचार गरिएको उनको दाबी पनि छ। `यसलाई अनावश्यक रूपमा अतिरञ्जित नगर्न र यस्ता भ्रामक समाचारप्रति विश्वास नगर्न सबैमा हार्दिक अनुरोध गर्दछु,´ उनले भने, `बागमती प्रदेश सरकार निर्माणको प्रक्रिया सहमति, लोकतान्त्रिक मूल्य–मान्यता र आवश्यक परे संसदीय प्रक्रियाअनुसार नै निष्कर्षमा पुग्नेछ। अफवाहभन्दा तथ्यमा विश्वास गरौं।´


