रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।
लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनु रहेको भन्दै रास्वपाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागेको जनाएको छ।
कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित हुनेछन्। त्यहाँ उनीहरूले नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्।
कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्मको एक घण्टा आम नागरिकका लागि खुला रहनेछ। उक्त समयमा मन्त्रीहरूले सर्वसाधारणका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्।
त्यसपछि साँझ ६ बजेदेखि दोस्रो चरणको ‘नेतृत्व संवाद’ सञ्चालन हुनेछ। यस चरणमा मन्त्री, पार्टीका केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबीच संयुक्त बैठक हुनेछ। नागरिक संवादका क्रममा प्राप्त सुझाव तथा देशका समसामयिक, बहुआयामिक र नीतिगत विषयमा बैठकमा छलफल गरिने रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकारका मन्त्री, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दालाई नीति निर्माण र कार्यान्वयनको तहसम्म पुर्याउनु हो।
त्यस्तै, मन्त्रीहरूलाई आम नागरिकप्रति प्रत्यक्ष रूपमा जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या पहिचान गरी राष्ट्रिय नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने तथा नागरिक, पार्टी संगठन, संसदीय दल र सरकारबीच सूचना तथा कार्ययोजनाको प्रभावकारी आदानप्रदान गर्ने कार्यक्रमको उद्देश्य रहेको छ।
रास्वपाका सहमहामन्त्री असिम शाहले जारी गरेको विवरणमा नागरिकबाट प्राप्त सुझावलाई नीति निर्माण र कार्यान्वयनसँग जोड्ने गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

