भोटेकोशी बाढी : बागमती प्रदेश सरकारद्वारा राहत र पुनर्निर्माणलाई तीव्रता

मकवानपुरगढी, १५ भदौ । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि बागमती प्रदेश सरकारले उद्धार, राहत तथा पुनर्निर्माणको कामलाई तीव्रता दिने भएको छ। 

बाढी प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माण सम्बन्धी तत्कालीन र दीर्घकालीन योजना अघि बढाउन मुख्यमन्त्री किरण थापाको अध्यक्षतामा सर्वदलीय बैठक सम्पन्न भएको छ।

बैठकमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीहरू राजेन्द्र पाण्डे, शालिकराम जम्कट्टेल र बहादुरसिंह लामासहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी थिए। एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया भने भर्चुअल माध्यमबाट सहभागी भएका थिए। बैठकले अत्यधिक प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवनमा तत्काल अस्थायी आवास, खाद्यान्न तथा अत्यावश्यक सामग्री निर्बाध उपलब्ध गराउने निर्णय गरेको छ।

त्यस्तै, बाढी तथा पहिरोका कारण अवरुद्ध बनेका सडक तथा पैदलमार्ग शीघ्र सञ्चालनमा ल्याउन र आवश्यक स्थानमा बेलिब्रिज, झोलुङ्गे पुल तथा तुइन निर्माणको प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ। प्रदेश सरकारले उद्धार र राहतका तत्कालीन कामसँगै भविष्यमा हुन सक्ने विपत् जोखिम न्यूनीकरणका लागि दिगो पुनर्निर्माण योजनासमेत अघि बढाउने जनाएको छ।

यसैबिच, भोटेकोशीको बाढीपछि मकवानपुरका ६१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् भने यसअघि सम्पर्कविहीन भनिएकामध्ये छ जना भने आफन्तको सम्पर्कमा आएका छन्। मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा हेटौँडाका २३, थाहाका १९, मनहरीका पाँच, भीमफेदीका तीन, अन्य स्थानीय तहका चार र ठेगाना नखुलेका सात जना रहेका छन्। सुरुङभित्र फसेका अन्य छ जनाको भने सफल उद्धार गरिएको छ।

बाढीमा परी ज्यान गुमाएका मकवानपुरका पाँच जनाको सनाखत भइसकेको छ। सनाखत हुनेमा सुमन गोले, उद्धव खड्का, विकास गोले, रमेश मगर र रमेश आलेमगर रहेका छन्।

राहत, उद्धार तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले रसुवा र नुवाकोटस्थित आफ्ना मातहतका प्रादेशिक कार्यालयहरू सार्वजनिक बिदाका दिनमा समेत खुला राख्न निर्देशन दिएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले परिपत्र जारी गर्दै अर्को सूचना नभएसम्म कर्मचारीहरूलाई निरन्तर परिचालनमा रहन भनेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।