भदौ २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा, २२ गते शोक दिवस
काठमाडौं । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
त्यस्तै, रसुवामा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्दै सरकारले भदौ २२ गते शोक दिवस मनाउने निर्णय गरेको छ।
बैठकले रसुवा बाढीबाट प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई तत्काल सुचारु गर्ने उद्देश्यले एकीकृत व्यावसायिक पुनर्स्थापना योजनाअन्तर्गत राहत, कर तथा महसुल छुटलगायत अन्य सहुलियत सुविधा उपलब्ध गराउने निर्णय पनि गरेको छ।
सरकारले बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षा कर्मचारीका लागि जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै, उद्धारका क्रममा घाइते भएका सुरक्षाकर्मीको निःशुल्क उपचार गर्ने तथा मृत्यु भएमा सम्बन्धित परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए।
यसैगरी, बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य तथा व्यापार कम्पनीमार्फत २५ हजार मेट्रिक टन चिनी एक प्रतिशत भन्सार महसुलमा आयात गर्न स्वीकृति दिने निर्णय गरेको छ।


