त्रिशुली ३ ए सुरूङको २० मिटर भित्र पुग्यो उद्वार टोली
काठमाडौं, १८ भदौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली ३ ए जलविद्युत् आयोजनाको सुरुङ (केबल डक्ट टनेल)को मुख खुलाउने काम भइरहेको छ।
आयोजनाका सुरुङ तथा मुख्य संरचनाहरू बाढीले पुरिएपछि त्यहाँ मानिसहरू फसेको आशंकामा नेपाली सेनाको नेतृत्वमा चिनियाँ टोली र अन्य प्राविधिक गरी ९३ जनाको टोली ५ एक्स्क्याभेटर, कम्प्रेसर र ब्रेकरसहित खोजी तथा उद्धारमा जुटिरहेको छ।
सुरुङको मुखमा ४० मिटर लामो र २० मिटर अग्लो भत्केका फलामसहितका संरचना तथा ठूलठूला ढुंगाहरु (डेब्रिस) छन्। रातदिन निरन्तरको प्रयासपछि त्यो पन्छ्याएर माथिबाट ३ फिट जति सुरुङको मुख खुलाइएको छ।
यससँगै उद्धार टोली त्यसभित्र १५-२० मिटर परसम्म पुगिसकेको छ भने एक्स्क्याभेटर तथा मेसिनसहित प्रवेश गर्नका लागि पुरै मुख खुलाउनुपर्ने भएकाले त्यहाँ रहेको बाँकी डेब्रिस हटाउने कार्य जारी छ। थप ७ वटा बोल्डर (ठूला ढुंगा) ब्लास्टिङका लागि तयारी भएको छ।
यो सुरुङ १७० मिटर जति लम्बाइको छ। माटो तथा लेदोले भरिएको त्यो सुरुङ छिचोलेपछि मात्रै भित्र पावरहाउसलगायत अन्य संरचनामा पुग्न सकिनेछ।


