बेत्रावतीमा चमत्कार: बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार
नुवाकोट । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घर पुरिएको ११औँ दिन नुवाकोटको बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ।
उद्धार हुनेमा विदुर नगरपालिका–१० बेत्रावतीकी चण्डिका श्रेष्ठ रहेकी छन्। बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरको भग्नावशेषमा पुरिएकी चण्डिकालाई शनिबार सुरक्षाकर्मीको टोलीले जीवितै उद्धार गरेको हो।
नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। त्यसपछि भग्नावशेष हटाउँदै खोजी गर्दा चण्डिकालाई जीवित अवस्थामा फेला पारिएको हो।
११ दिनसम्म भग्नावशेषभित्र पुरिएर पनि जीवित रहन सफल चण्डिकालाई उद्धारपछि तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको छ।
लामो समयसम्म भग्नावशेषमा पुरिएकी महिला जीवितै फेला परेपछि स्थानीय बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मीमा खुसी छाएको छ।
भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावतीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढी आएको ११ दिनपछि चण्डिकाको जीवितै उद्धार हुनुलाई उद्धार अभियानकै आश्चर्यजनक घटनाका रूपमा लिइएको छ।

