फुटपाथमा बच्चा जन्माएको घटनालाई सरकारले गम्भीर रूपमा लिएको छ : स्वास्थ्यमन्त्री मेहता
काठमाडौँ । स्वास्थ्यमन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिर प्रसूति भएको घटनाको छानबिन भइरहेको बताएकी छिन् ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले शून्य र आकस्मिक समयमा उठाएको प्रश्नको जवाफ दिँदै उनले घटनाबारे अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन्।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको तथा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा.पवनजंग रायमाझी पनि टोलीमा रहेको उनको भनाइ छ ।
मन्त्री मेहताले सेवाग्राही अस्पताल परिसरबाहिर पुग्ने अवस्था किन सिर्जना भयो र अस्पतालको सेवामा कुनै कमीकमजोरी थियो वा थिएन भन्ने विषय छानबिनबाट स्पष्ट हुने बताइन् । घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामकाजबाट हटाई थप छानबिन सुरु गरिएको पनि उनले जानकारी दिइन् ।
सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा नि:शुल्क हुँदाहुँदै शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले स्पष्ट पारिन् ।

