ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडास्थित सन्धिखर्क–किमडाँडा भित्री सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बुधबार बिहान करिब ९:१५ बजे लु.५ त ५५६ नम्बरको ट्याक्टर सडकबाट करिब १३० फिट तल खसेको थियो।
दुर्घटनामा सन्धिखर्क नगरपालिका–८ काउली चौपारी पकले बस्ने अन्दाजी ३५/३६ वर्षीय सुरज विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनास्थलमा सोकोसहित प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ। दुर्घटनामा परेको ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।


