उत्तर कोरियाका नेता किम जोङले ‘मेरो डेस्कमा सधैं एक न्यूक्लियर बटन हुन्छ’ भनेपछि अमेरिकी राष्ट्रपतिको यस्तो जबाफ…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनको भन्दा आफ्नो पारमाणिक अस्त्रको बटन धेरै ठूलो र झन् बढी शक्तिशाली रहेको बताएका छन्। दुई पारमाणविक शक्तिसम्पन्न राष्ट्रका नेताबीच बढ्दो व्यक्तिगत आरोप प्रत्यारोपको सिलसिलामा ट्रम्पको पछिल्लो ट्वीट आएको छ।
ट्वीटरमा राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘उत्तर कोरियाका नेता किम जोङ उनले भनेछन् कि उनको डेस्कमा सधैं एक न्यूक्लियर बटन हुन्छ । उनको कमजोर र खानाका लागि संघर्षरत साम्राज्यबाट कसैले उनलाई बताओस् कि मसँग पनि एक परमाणु बटन छ, जुन उनको भन्दा निकै ठूलो र शक्तिशाली छ । साथै मेरो परमाणु बटमले काम पनि गर्छ ।’
किमले यो हप्ताको सुरुमा पारमाणविक अस्त्रको बटन सधैँ आफ्नो टेबलमा रहेको धम्की दिएका थिए। ट्रम्पको ट्वीटले जुनसुकै अमेरिकी राष्ट्रपतिको पारमाणविक अस्त्रमा सोझो पहुँच रहेको देखाएको छ ।
अमेरिकासँग विश्वको सबभन्दा ठूलो पारमाणविक अस्त्रभण्डार छ । उत्तर कोरियाले अमेरिकामाथि आक्रमण गर्न सक्ने क्षमताको पारमाणविक हतियार आफूसँग रहेको दाबी गर्छ । विश्लेषकहरू प्योङयाङसँग पारमाणविक अस्त्र भएकोमा सहमत छन् । तर ऊसँग रिस उठेका बेला प्रयोग गर्न सक्नेगरी त्यस्तो प्रविधि रहेको भन्ने स्पष्ट छैन ।
राष्ट्रपति ट्रम्पको उन्मुक्त रूपमा ट्वीट लेख्ने बानीले पर्यवेक्षकलाई विगतमा अन्योलमा पारे जस्तै उनको यो पछिल्लो सन्देशले पनि कूटनीति र राष्ट्रपतिको भनाइका बीचको भेद पुनः परिभाषित गर्ने ठानिएको छ।
कैयौंले अनलाइनमा विश्वनेताहरूले सस्तो रूपमा पारमाणविक अस्त्रको धम्की दिएकोप्रति सचेत गराएका छन्। तर उनका समर्थकहरूले उनको बचाउ गर्दै ट्रम्पका टिप्पणीहरू तथ्यगत रहेको र त्यसले अमेरिकी शक्ति र समाधान देखाउने बताएका छन्।


