कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने : प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । घटनाका विषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद तथा नेतासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा घटनाका दोषीलाई कारवाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन र शान्ति सुरक्षाको अवस्थालाई सामान्य बनाउन माग गर्दै नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावल, लेखराज भट्टलगायतले आज ध्यानाकर्षण गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीररुपमा लिएकाले छानबिन समिति गठन गरेर काम अघि बढाएको उल्लेख गर्नुभयो । “कञ्चनपुर घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यस्ता व्यक्तिको पहिचान गरी कारवाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।”

प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कानूनबमोजिम कारवाही गर्न सरकारले आवश्यक प्रक्रिया शुरु गरेकोसमेत जानकारी दिनुभयो । घटनामा आशङ्का गरिएका व्यक्तिलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानूनी कारवाही गर्न सरकारले कुनै कसर बाँकी नराख्दैन बताउनुभयो ।

“बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारवाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन”, प्रधानमन्त्रीले भन्नुभयो । उहाँले घटनालाई राजनीतिकरण गर्नेबाट सजग हुनसमेत आग्रह गर्दै दोषीलाई कारवाही, पीडितलाई क्षतिपूर्ति दिलाइने विश्वास दिलाउनुभएको थियो ।

नेकपाका स्थायी समिति सदस्य रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाका बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारवाही गर्न माग गरेको थियो ।

नेकपाको आज बसेको सचिवालय बैठकले कञ्चनपुर घटनाका दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई राहत दिलाउन आग्रह गरेको थियो । तेह्र वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर पछिल्ला केही दिनदेखि कञ्चनपुर अशान्त रहँदै आएको छ । सरकारले सो घटनाको छानबिनका लागि उच्चस्तरीय छानबिन समितिसमेत बनाइसकेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।