नेपालका राजाहरुले लगाउने श्रीपेच सर्वसाधारणका लागि खुला (फोटो-भिडियो सहित)

काठमाडौँ । नेपालमा गणतन्त्र स्थापनापछि सङ्ग्रहालयका रुपमा परिणत भएको नारायणहिटी राजदरबारमा रहेको नेपालका राजाहरुले लगाउने श्रीपेच आज सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको छ ।

नारायणहिटी दरबारमा रहेका श्रीपेच, राजदण्ड र अन्य सामग्री प्रदर्शनीको आज यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै दैवी शक्तिको झुटो सिद्धान्तका भरमा शासन गर्ने परम्पराको अन्त्य भएपछि त्यसको प्रतीकका रुपम रहेको श्रीपेच सर्वसाधारणका लागि प्रदर्शन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

एक व्यक्तिको स्वार्थ र अहङ्कारको मारमा जनता पर्नुपर्ने शासनको अन्त्यका लागि लखन थापा, योगमाया, कृष्णलाल अधिकारी, महाकवि देवकोटा, बालकृष्ण सम, कृष्णप्रसाद कोइराला, मनमोहन अधिकारी, बिपी कोइराला, मातृकाप्रसाद कोइराला, रामनाथ दाहाल, ९६ सालका शहीद सबैले लडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ४८ वर्ष अगाडि आफैँले पनि यसका लागि एक आन्दोलनको अगुवाइ गरेको बताउनुभयो ।

इतिहासमा राजाहरुले राष्ट्रियता र एकीकरण आदिमा खेलेको भूमिका सकारात्मक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जन्मसिद्ध रुपमा शासन गर्न पाउनुपर्ने व्यवस्था भने तर्कसङ्गत थिएन भन्नुभयो । जनताबाट निर्वाचित हुने शासन व्यवस्था नै तर्कपूर्ण रहेको उल्लेख गर्दै उहाँले आज श्रीपेच जनताका लागि प्रदर्शनी खुलाउनाले नेपालको परिवर्तन कहाँ पुग्यो भन्ने स्पष्ट हुने बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्रसाद अधिकारीले विसं २०६२-६३ को राजनीतिक परिवर्तनपछि सङ्ग्रहालयमा परिणत भएको नारायणहिटीमा श्रीपेच सुरक्षित राखिएको र हाल प्रदर्शनमा ल्याई श्रीपेचै छैन कि भन्ने भ्रम हटाइएको बताउनुभयो । नेपालको इतिहास झल्काउने श्रीपेच, राजदण्ड र अन्य सामग्रीको प्रदर्शनले देशीविदेशी पर्यटक आकर्षित गर्न सकिने बताउनुभयो ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले २०६५ फागुन १५ गते स्थापना भएको सङ्ग्रहालयमा श्रीपेच, राजदण्ड, टायरा आदि १२ सामानको प्रदर्शनी खुला गरिएको बताउनुभयो ।

कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पु¥याउने संस्कृतिविद् जगमान गुरुङ, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, त्रिभुवन विश्वविद्यालयका प्रा डा मदन रिमाल, पुरातत्व विभागका उपसचिव दामोदर गौतम, उपसचिव रामबहादुर कुँवर, पूर्वप्रमुख रोहितकुमार ढुङ्गानालगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमपछि अनौपचारिक रुपमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले श्रीपेचमा अष्ट्रेलियामा पाइने वर्ड अफ प्याराडाइजको बहुमूल्य प्वाँख जडित हुने जानकारी दिनुभयो । रासस

https://youtu.be/51S0_ENJVxg



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖