क्षमापूजा गरी इन्द्रजात्रा मनाइँदै, रथयात्रा स्थगित

काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रामा यस वर्ष रथ तान्न स्थगन गरेपछि क्षमा पूजा गरेर मनाइने भएको छ । कोरोनाबाट बच्न रथयात्रा स्थगन गरिएकाले इन्द्रजात्रा सम्बन्धित सबै मठमन्दिरमा क्षमापूजा गरी मनाउन लागिएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद सुवेदीले राससलाई जानकारी दिए ।

भाद्र शुक्ल चतुर्दशीका दिन आज इन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा आज काठमाडौँ उपत्यकामा प्राचीनकालदेखि नै सार्वजनिक बिदा दिने गरिन्छ । आजैदेखि वसन्तपुर दरबार क्षेत्रमा कुमारी यात्रा शुरु हुने परम्परा थियो । यस वर्ष भने कोरोनाको महामारीका कारण यो परम्परा रोकिएको छ ।

आजको दिन कुमारीलाई तल्लो टोल यात्रा गराउने गरिन्छ । भाद्र शुक्ल पूर्णिमाका दिन भदौ १७ गते कुमारीलाई माथिल्लो टोल यात्रा गराइन्छ । यसैगरी भदौ २१ गते नानीचा यात्रा गराइने विधि पूरा हुने प्राचीनकालदेखिको विधि छ । आश्विन कृष्ण चौथीका दिन इन्द्रध्वजपतन अर्थात् इन्द्रजात्राको लिङ्गो ढालिन्छ । यस वर्ष भदौ २२ गते बिहानी ४ः०६ बजे लिङ्गो ढाल्ने साइत निस्किएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

इन्द्रजात्रासँग सम्बन्धित तलेजु, भैरव, गणेश, कुमारीलगायत मन्दिरमा क्षमा पूजा गर्ने तयारी भएको संस्थान काठमाडौँ शाखाका प्रमुख सुवेदीले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा भएको जिल्ला सुरक्षा समितिको बैठकले पनि जात्रा, चाड पर्व मनाउँदा भिडभाड नगर्ने निर्णय गरेको थियो । यस वर्ष रातो मच्छेन्द्रनाथको जात्रासमेत हुन सकेको छैन ।

भाद्र शुक्ल द्वादशी अर्थात् भदौ १४ गते बिहान ७ः०७ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा इन्द्रध्वजोत्थान नगरिएपछि मानन्धर समूहले इन्द्रध्वजोत्थान गरिने हनुमानढोका दरबार क्षेत्रमा क्षमा पूजा गरेको थियो ।

काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भदौ ३ गते रातिदेखि निषेधाज्ञा जारी गरिएपछि यस वर्ष इन्द्रध्वजोत्थानका लागि रुखसमेत काटिएको थिएन । भदौ ४ गते इन्द्रजात्राको लिङ्गो काट्ने साइत राति ९ः२५ बजेको दिइएको थियो । अघिल्लो बुधबार रातिदेखि नै काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि लिङ्गो नकाटिएको संस्थानले जनाएको छ ।

इन्द्रजात्रा चलाउन नसकिने भएपछि पूजा आराधना गरिने सम्बन्धित सबै मठमन्दिरमा क्षमा पूजाको विधि भदौ १४ गतेदेखि शुरु भएको संस्थानका काठमाडौँ शाखा प्रमुख सुवेदीले बताए । इन्द्रजात्रा राजधानीका नेवार समुदायले महत्वका साथ मनाउने गरेका थिए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।