जनगणना तयारीका लागि कार्यालय स्थापना

जाजरकोट, जनगणना तयारीका लागि जाजरकोट सदरमुकाम खलङ्गामा कार्यालय स्थापना भएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको कामसमेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२औँ जनगणना, २०७८ देशभर सञ्चालन हुँदैछ । तथ्याङ्क कार्यालय सुर्खेतबाट केही कर्मचारी खटाएर कार्यालय स्थापना गरिएको हो ।

जिल्लामा जनगणना, २०७८ का लागि ३०४ जनशक्ति आवश्यक पर्ने भएको छ । जनगणनाका लागि सुपरीवेक्षक र गणक परिचालन गरिने भएको हो । जम्मा ६४ सुपरीवेक्षक र २४० गणक परिचालन हुने जिल्ला जनगणना कार्यालय जाजरकोटका प्रमुख जनकबहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुपरीवेक्षकका लागि स्नातक र गणकका लागि १२ कक्षा उत्तीर्णले आवेदन दिन पाउनेछन् । अहिले जनगणनाका लागि प्राविधिक तयारी भइरहेको छ । गणकले तथ्याङ्क सङ्कलन गर्नुभन्दा पहिले सुपरीवेक्षकले घर सर्वेक्षण गर्नेछन् । सुपरीवेक्षकले विसं २०७८ वैशाख २५ देखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरण गर्नेछन् । गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणना गर्नेछन् ।

यस वर्ष जनगणनामा ८१ प्रश्नावली समावेश गरिने भएको छ । जनगणनामा आवश्यक पर्ने जनशक्ति करारमा लिइनेछ । यसका लागि अनलाइनमार्फत आवेदन दिन सकिने छ । करारमा लिने जनशक्ति केन्द्रले नै छनोट गर्ने भएको छ । यसअघि जिल्लाबाटै छनोट गरिने गरेको थियो । करारमा जनशक्ति लिनका लागि माघ ११ देखि चैत ११ गतेसम्म आवेदन दिने समय दिइएको छ । फागुन मसान्तसम्म अनलाइनमार्फत र अनलाइनमार्फत नभरेकाले यही चैत ५ देखि ११ गतेसम्म कार्यालयमा गएर आवेदन दिन सक्ने कार्यालय प्रमुख बोहराले जानकारी दिनुभयो ।

अघिल्ला वर्षमा शिक्षकलाई परिचालन गरिने गरेकामा यस वर्ष करारमा जनशक्ति नै राख्न लागिएको हो । जिल्लामा भेरी नगरपालिका, नलगाड नगरपालिका र छेडागाड नगरपालिकामा स्थानीय जनगणना कार्यालय रहने भएका छन् । जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्म विभिन्न समिति निर्माण गरिनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना र जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्लाभित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ । त्यस्तै प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय जनगणना समन्वय समिति रहने व्यवस्था मिलाइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖