झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित भएको भन्दै स्थानीयवासीले विरोध

झापा, ६ भदौ ।इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।

मेचीनगर नगरपालिका वडा नं १ र २ का १९ खानेपानी परियोजनाको मुहानमा उक्त झरना छ । झरनामा नुहाउन र रमाइलो गर्न झापा र इलामबाट दिनहुँ सयौँ आन्तरिक पर्यटक ओइरिन थालेका छन् । यसबाट पिउने पानी धमिलिएको उपभोक्ताको आरोप छ ।

पानीको मुहानमा आन्तरिक पर्यटक रमाउने नाममा फोहरमैला गरिदिँदा उपभोक्ता दूषित पानी पिउन बाध्य भएको बाहुनडाँगी खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष सनतकुमार अधिकारीले बताउनुभयो ।

उहाँले मेचीनगरभित्र पर्ने बाहुनडाँगी, निन्दाटार, नन्दा, सन्देशी, नयाँ चावघारी, गोकुल गैरी, तिरिङ र साम्पाङ्गे खानेपानी आयोजनाको मुहान भनेकै त्यही झरना हो । मुहान दूषित हँुदा तीन हजार उपभोक्ता शुद्ध पिउने पानीबाट बञ्चित हुने अध्यक्ष अधिकारीको भनाइ छ । उहाँले फोहरमैला नहुने गरी तत्काल सो स्थानमा आउने आन्तरिक पर्यटकलाई व्यवस्थित गर्न नगरपालिकासँँग माग गर्नुभएको छ ।

वडा नं १ र २ का केही भाग साविक बाहुनडाँगीमा साना तथा ठूला गरी करिब १९ खानेपानी आयोजना सञ्चालित छन् । नन्दा खानेपानी समितिका अध्यक्ष इन्द्र ढकालले पानीको स्रोत संरक्षण गरिएन भने भावी दिनमा खानेपानीको विकराल समस्या पैदा हुने बताउनुभयो ।

स्थानीयवासीले मुहान धमिलिएको भन्दै झरनामा भीड रोक्न माग गरेपछि मेचीनगरका नगर प्रमुख विमल आचार्यले सो क्षेत्रको अनुगमन गर्नुभएको छ । पर्यटन क्षेत्रको विकाससँगै पानीको मुहानको उचित व्यवस्थापन गर्ने विषयमा आचार्यले स्थानीय सरकार सक्रियरुपमा लाग्ने जानकारी दिनुभयो ।

पहिलो प्राथमिकता खानेपानी भएको भन्दै उहाँले मुहान सफा राख्न सोही स्थानमा डस्वीन राखेर पर्यटकलाई सूचित गरिने विकल्पका बारेमा पनि सोचिरहेको बताउनुभयो । पर्यटकीय क्षेत्रका रुपमा विस्तारै स्थापित हुँदै गइरहेको बाहुनडाँगी झरनाको उचित व्यस्थापन र संरक्षण गर्न रोङ गाउँपालिकासँग पनि छलफल गरिने उहाँको भनाइ छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖