नयाँ वर्षको अवसरमा कलाकारको भ्याइनभ्याइ

कोरोनाका कारण बन्द भएको स्टेज कार्यक्रम (साङ्गीतिक कार्यक्रम) सुचारु भएसँगै कलाकारको भ्याइनभ्याइ भएको छ । नयाँ वर्ष २०७९ सालका लागि गायक–गायिकाले आफ्नो प्रस्तुति दिन आआफ्नो गन्तव्यतिर लाग्दै छन् । दशैँ–तिहारदेखि कलाकारले विभिन्न जिल्लामा थुप्रै साङ्गीतिक कार्यक्रम दिएका थिए, अब नयाँ वर्षमा विशेष कार्यक्रम पनि तय हुन थालेको कलाकारहरू बताउँछन् ।यसरी स्टेज कार्यक्रम सुरु हुन थालेपछि कलाकारमा उत्साह थपिएको छ ।गायक प्रमोद खरेलले अस्ट्रेलियामा आफ्नो दमदार प्रस्तुति दिएपछि शुक्रबार चैत २५ गते झापाको झिलझिलेमा आफ्नो प्रस्तुत दिने जानकारी दिए ।

आफूलगायत आफ्नो ब्यान्डको प्रस्तुति रहेको सो कार्यक्रम नयाँ वर्षको उपलक्ष्यमा हुने उनले बताए । खरेलले भने, “डेढ वर्षपछि दशैँ–तिहारमा काठमाडौँ, नवलपरासी, झापा, इटहरी, सिक्किम, मोरङ दुबईलगायतका स्थानमा साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिएको थिएँ,’ उनले थपे, “कार्यक्रमहरू हुन सुरुवात चाँहि भएको छ, यसले कलाकारमा उत्साह थपेको छ ।” गायक कालिप्रसाद बाँस्कोटा आफूले कोरोनापश्चात् पहिलो पटक स्टेजमा प्रस्तुति दिन लागेकोमा उत्साहित छन् । उनले भने, “अपटाउन म्युजिक फेस्टिभलमा नेपाली नयाँ वर्षको उपलक्ष्यमा गीत गाउने छु । ”

कोरोनाले हामी कलाकार मात्र नभएर सबैको जनजीवन नै उथलपुथल भएको थियो, अब लयमा आउने आशा रहेको बताए ।यता नेपथ्य पनि नयाँ वर्षको दिनलाई सङ्गीतमय बनाउन चाहने नेपथ्यप्रेमीका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्ने भएको छ ।दमकको सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा नेपथ्य फेरि एक पटक उभिने भएको छ । नेपथ्यले आफूलाई राजधानी काठमाडौँकै भृकुटीमण्डपमा उपस्थित गराएको थियो ।

२०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनर्निर्माणका लागि आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो । यस पटकको नेपथ्य कार्यक्रम दुई वर्षपछिको अन्तरालमा हुँदैछ ।“यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,” नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, “जटिल बन्दै गएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र सङ्कटग्रस्त मानव जीवन बीचको सम्बन्ध अझ खुल्दै गएको छ । ”त्यो एकान्तिक अवधिमा सङ्गीतको अभ्यासलाई पनि जारी राखेको उनले बताए ।

गायिका रचना रिमाल भने नयाँ वर्षका लागि इजरायलमा आफ्नो प्रस्तुति दिने भएकी छिन् भने गायक शिव परियार सुदूरपश्चिम समाजको आयोजनामा अस्ट्रेलियाको सिड्नीमा नयाँ वर्षको अवसरमा कार्यक्रमा गर्ने भएका छन् । गायिका रचना रिमालले कोरोनापश्चात् धेरै स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिएकी छन् ।उनले कीर्तिपुर, सिमरा, गाईघाट, उर्लाबारी, दुबईलगायतका स्थानमा स्टेज कार्यक्रम दिइसकेको जानकारी दिइन् । “नयाँ वर्षका लागि थुप्रै ठाउँबाट निम्तो आइरहेको छ,” रिमालले भनिन्, “केही कार्यक्रम प्रस्तुति गर्न नयाँ वर्षका लागि इजरायल जानेछु । ”

गत वर्ष कोरोनाका कारण देशभित्र मेला–महोत्सव खासै हुन सकेका थिएनन् । यस वर्ष विभिन्न जिल्लामा मेला–महोत्सव भएको तथा विदेशमा पनि बोलाएका कारण आफूहरू त्यसमा व्यस्त भएको रिमालले बताइन् ।नेपाल आइडलको विजेता सज्जा चौलागाईंले पनि झापाको बिर्तामोडमा नयाँ वर्षको अवसरमा प्रस्तुति दिने भएका छन् ।राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बीजी साङ्गीतिक कार्यक्रमहरू हुन सुरु भएसँगै लोकदोहोरी कलाकारमा उत्साह थपिएको बताउँछन् । चर्चामा रहेका गायक–गायिकाको स्टेज कार्यक्रममा राम्रो माग हुने गर्छ । उनीहरूको आम्दानीको मुख्य स्रोत नै स्टेज कार्यक्रम मानिन्छ तर कोरोनाका कारण साङ्गीतिक कार्यक्रम नहुँदा स्टेजमा व्यस्त हुने कलाकार मर्कामा थिए । गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेका छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖